मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मी अन्यत्र खटाउन रोक
जनकपुरधाम, २७ भदौ । मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन स्वास्थ्य निकायहरूलाई निर्देशन दिएको छ ।
प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत जनशक्तिलाई अन्य कार्यालयमा कामकाजमा खटाउने वा हाजिर गराउने कार्य नगर्न निर्देशन दिएको हो ।
मन्त्रालयका अधिकृत सातौँ वच्चे लाल साह तेलीले हस्ताक्षर गरेको पत्रमा २०८३ असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अन्यत्र कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाइएको उल्लेख छ ।
प्रदेश मन्त्रिपरिषद्को २०८३ साउन २८ गतेको निर्णयअनुसार अस्थायी दरबन्दीसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न लागिएको मन्त्रालयले जनाएको छ । सोही निर्णयका आधारमा सम्बन्धित स्वास्थ्य निकायलाई जानकारी गराउँदै निर्देशन कार्यान्वयन गर्न भनिएको हो ।
निर्देशन प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय तथा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूमा पठाइएको छ ।
मन्त्रालयले अस्थायी दरबन्दीमा कार्यरत जनशक्तिको कामकाज तथा हाजिरीसम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्न निर्देशन जारी गरिएको जनाएको छ । मन्त्रालयको निर्देशनअनुसार त्यस्ता चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल सम्बन्धित कार्यालयमै हाजिर गराउनुपर्नेछ ।


