जनकपुरधाममा ९ दलीय अग्रगामी मोर्चाको बृहत् कार्यकर्ता भेला
जनकपुरधाम, २७ भदौ । ९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले जनकपुरधाममा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
‘सङ्घर्षका लागि एकता–समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि सङ्घर्ष’ भन्ने नारासहित जनकपुरधाम उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित कार्यक्रममा मधेश प्रदेशका पाँच जिल्लाका महिला तथा पुरुष कार्यकर्ताको सहभागिता रहेको छ ।
मोर्चाको मधेश प्रदेशस्तरीय बैठकले सङ्गठन विस्तार तथा जनपरिचालनलाई तीव्रता दिने उद्देश्यले क्षेत्रीयस्तरमा भेला तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेअनुसार जनकपुरधाममा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । भेलामा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू उपेन्द्र यादव, डा. सीके राउत, प्रभु साह, जनार्दन शर्मा र रेशम चौधरीलगायतको उपस्थिति रहेको छ ।
देशव्यापी रूपमा जनसभा तथा कार्यकर्ता भेला गर्दै आफ्ना राजनीतिक एजेन्डा तल्लो तहसम्म पुर्याउने पूर्वघोषित रणनीतिअनुसार मधेश प्रदेशमा कार्यक्रम आयोजना गरिएको हो ।
जनकपुरधामको भेलालाई मोर्चाले मधेशमा सङ्गठन विस्तार, कार्यकर्ता परिचालन तथा राजनीतिक एजेन्डालाई स्थानीय तहसम्म पु¥याउने अभियानको महत्वपूर्ण चरणका रूपमा लिएको छ ।
भेलामा पाँच जिल्लाबाट सहभागी नेता तथा कार्यकर्ताबीच संगठनको आगामी रणनीति, जनपरिचालन तथा राजनीतिक गतिविधिका विषयमा छलफल हुने बताइएको छ । छलफलबाट मधेश प्रदेशमा मोर्चाको आगामी साङ्गठनिक तथा राजनीतिक गतिविधिको दिशा तय हुने विश्वास गरिएको छ ।
हाल ९ दलीय अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान् राष्ट्रिय मोर्चा नेपाल आबद्ध रहेका छन् ।


