जनकपुरधाम, २६ भदौ । आमाले चौकमा छाडेर गएपछि अलपत्र अवस्थामा भेटिएकी एक बालिका करिब दुई महिनापछि पुनः आमाकै जिम्मामा पुगेकी छन् ।

गत असार ३१ गते राति करिब ८ः२० बजे महोत्तरीको सम्सी गाउँपालिका–४, भेटपुरचोकमा ती बालिका अलपत्र अवस्थामा फेला परेकी थिइन् ।

बालिकाका अभिभावकको खोजी गर्दा तत्काल पत्ता नलागेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले उनलाई धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित सद्गुरु बाल आश्रममा संरक्षणका लागि जिम्मा लगाएको थियो ।

आश्रममा राखिएको करिब दुई महिनापछि बालिकाको परिवारको पहिचान खुलेको हो । उनी सम्सी गाउँपालिकाका शान्तकुमार मण्डलकी छोरी रहेको पुष्टि भएपछि शुक्रबार आमाले आश्रममै पुगेर छोरीको जिम्मा लिएकी छन् ।

बालिकाकी आमा विनिता मण्डलका अनुसार श्रीमान् बच्चा हराएको करिब एक सातापछि भारतबाट मजदुरी गरेर घर फर्किएका थिए । आफूले मानसिक अवस्था ठीक नभएका कारण छोरीलाई भेटपुरचोकमा छाडेर गएको उनले बताएकी छन् ।

उपचार तथा झारफुकपछि स्वास्थ्य अवस्थामा सुधार आएपछि छोरीको खोजी गर्न थालेको विनिताको भनाइ छ ।

आश्रममा ल्याउँदा बालिकाको स्वास्थ्य अवस्था पनि राम्रो नरहेको सद्गुरु बाल आश्रमका सञ्चालक सत्यनारायण आलोकले बताए । सुरुमा बालिकालाई सम्हाल्न र उपचार गराउन समस्या भए पनि आवश्यक हेरचाहपछि उनको स्वास्थ्यमा सुधार आएको उनले जानकारी दिए ।

आश्रममा केही समय बिताएपछि बालिका अन्य बालबालिकासँग घुलमिल हुँदै खेल्ने र रमाउने अवस्थामा पुगेकी थिइन् । करिब दुई महिनाको संरक्षणपछि परिवारको पहिचान खुलेसँगै उनलाई आमाको जिम्मा लगाइएको सञ्चालक आलोकले बताए ।

सम्सी गाउँपालिकाका बाल अधिकारी सञ्जय मण्डल र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रतिनिधि प्रहरी जवान अशोक महतोको रोहबरमा सञ्चालक आलोकले बालिकालाई शुक्रबार अभिभावकको जिम्मा लगाएका हुन् ।