जनकपुरधाम, २६ भदौ । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयनअन्तर्गत प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये ५ जना कुटपिट मुद्दाका प्रतिवादी छन् । उनीहरूलाई अदालतले जनही ३ सय ५५ रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना तोकेको थियो ।

त्यस्तै, जालसाजी मुद्दाका एक जनालाई ३ सय १५ रुपैयाँ, सवारी ज्यान मुद्दाका एक जनालाई २ हजार रुपैयाँ र अर्को एक जनालाई ७ हजार ७ सय रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको बताए ।

प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजतलास तथा पक्राउ अभियान जारी रहने जनाएको छ ।