चौरचन पर्वमा जनकपुरधाम उपमहानगरपालिकाले दियो स्थानीय बिदा
जनकपुरधाम, २६ भदौ । मिथिला संस्कृतिको महत्वपूर्ण पर्व चौरचनको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले आगामी भदौ २९ गते सोमबार चौरचन पर्वका अवसरमा नगर क्षेत्रभित्र स्थानीय बिदा दिने जनाएको हो ।
उपमहानगरपालिकाको शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय तथा नगर क्षेत्रका विद्यालयमा स्थानीय बिदा दिने निर्णय गरेको हो ।
उपमहानगरपालिकाका अनुसार स्वास्थ्य सेवा, दमकल, सरसफाइ लगायतका अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन् ।
मिथिला संस्कृतिमा चौरचन पर्वलाई विशेष धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाइन्छ । यस पर्वमा विशेषगरी चन्द्रमाको पूजा गरी परिवारको सुख, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा रहेको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरी घिमिरेद्वारा जारी सूचनामार्फत स्थानीय बिदासम्बन्धी निर्णयबारे सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।



