बारा, २६ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रतिवादी बनाइएका १० जनालाई बारा जिल्ला अदालतले रिहा गर्ने आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले मुख्य प्रतिवादी जीतपुरसिमरा उपमहानगरपालिका–१ का प्रोग्रेश (पुरग्रेश) चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । अन्य नौ जनालाई भने साधारण तारेखमा रिहा गरिएको छ ।

साधारण तारेखमा रिहा हुनेमा चौधरीका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममता तथा सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिन छन् । उनीहरूको घटनामा संलग्नता पुष्टि हुने पर्याप्त तथा ठोस प्रमाण नदेखिएको अदालतको आदेशमा उल्लेख छ ।

गरिमाका बुबा मनोज चौधरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूविरुद्ध अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो । अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन् ।

यसअघि सोही घटनामा प्रतिवादी बनाइएका दुई बालकलाई भने अदालतले बाल सुधारगृहमा पठाउने आदेश दिएको थियो । थापा र खड्का थरका ती दुई बालकलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म वीरगन्जस्थित बाल सुधारगृहमा राखेर पुर्पक्ष गर्न आदेश दिइएको हो ।

प्रहरीका अनुसार थापा थरका बालकले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । उनले बालिकालाई चकलेट खुवाएर बलात्कारपछि हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।

घटनास्थल र शवको अवस्थासँग उनको बयान मेल खाएको आधारमा प्रहरीले उनको संलग्नता रहेको निष्कर्ष निकालेको थियो ।

अनुसन्धानका क्रममा ती बालकले खड्का थरका अर्का बालकको समेत घटनामा संलग्नता रहेको बयान दिएको भिडियो सार्वजनिक भएको थियो ।

प्रादेशिक अस्पताल कलैयाको ओसीएमसी कक्षमा चिकित्सकसँग कुरा गरिरहेको उक्त भिडियो प्रहरी हवल्दार कुमार विकले बाहिर ल्याएको आरोप छ ।

भिडियो सामाजिक सञ्जालमा फैलिएपछि विकलाई प्रहरीले नियन्त्रणमा लिएर वैयक्तिक गोपनीयतासम्बन्धी ऐन २०७५ र विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान अघि बढाएको छ ।

खड्का थरका बालकले भने घटनामा आफ्नो संलग्नता नरहेको बयान दिएका छन् । अदालतले दुवै बालकलाई मुद्दाको अन्तिम फैसला नभएसम्म बाल सुधारगृहमा राख्ने आदेश गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ की गरिमा साउन ३१ गतेदेखि हराएकी थिइन् । भदौ २ गते घरदेखि करिब एक सय मिटर दक्षिणतर्फ रहेको खाली घरमा उनको शव फेला परेको थियो ।

बालिकाको बलात्कारपछि हत्या भएको खुलेपछि घटनाले देशव्यापी रूपमा चासो र आक्रोश सिर्जना गरेको थियो ।

घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनसमेत चर्किएको थियो । भदौ ६ गते मृतकका बुबा मनोज र आमा मानमतीसहित सरकारी टोलीबीच गृह मन्त्रालयमा वार्ता भएको थियो ।

वार्तामा तीनबुँदे सहमति भएपछि भदौ ७ गते कलैयास्थित पसाहा खोलामा बालिकाको अन्त्येष्टि गरिएको थियो ।