पर्सामा बाघको आक्रमणबाट वृद्धको मृत्यु
पर्सा, २६ भदौ । पर्सामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
जिराभवानी गाउँपालिका–२ महादेवपट्टी नजिकको राष्ट्रिय वनमा बाघको आक्रमणबाट स्थानीय ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको हो ।
काठमाडौंटोल निवासी थारु बुधबार बिहान करिब १० बजे घरबाट घाँस काट्न भन्दै गाउँ नजिकैको जंगलतर्फ गएका थिए । अबेरसम्म घर नफर्किएपछि परिवारजन तथा आफन्तले उनको खोजी थालेका थिए ।
खोजीका क्रममा शुक्रबार बिहान सब डिभिजन वन कार्यालय बसन्तपुरबाट करिब ५०० मिटरभित्र जंगलमा बाघले आक्रमण गरी मारेको अवस्थामा थारुको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले पुष्टि गरेका छन् ।
उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ ।
प्रहरी र वन कार्यालयले घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।


