सप्तरी, २६ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिरै सुत्केरी गराइएको घटनापछि अस्पताल प्रशासनले पाँच जना कर्मचारीलाई कामकाजबाट हटाएको छ ।

भदौ २५ गते अस्पताल परिसरको मूल गेटबाहिर बबिता पासवानले बच्चा जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले घटनाबारे छानबिन अघि बढाउँदै कर्मचारीमाथि कारबाही गरेको हो ।

अस्पताल प्रशासनका अनुसार घटनाको छानबिनका लागि अस्पताल तथा अन्य सम्बन्धित निकायबाट छुट्टाछुट्टै समिति गठन गरिएको छ ।

ती समितिको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म तथा अर्को व्यवस्था नभएसम्म पाँच कर्मचारीलाई कामकाजबाट हटाइएको हो ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित कुमार झाले शुक्रबार पत्र जारी गर्दै स्टाफ नर्स मनीषा कुमारी साह, स्टाफ नर्स सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाएका हुन् ।

घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनपछि थप आवश्यक निर्णय लिइने अस्पताल प्रशासनले जनाएको छ ।