धनुषामा १० वर्षीया बालिकामाथि बलात्कारको आरोप, २२ वर्षीय युवक फरार
जनकपुरधाम, २६ भदौ । धनुषाको सबैला नगरपालिका–९ भठिहनमा १० वर्षीया बालिकामाथि बलात्कार भएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार घटना करिब एक साताअघि भएको हो ।
घटनामा संलग्न रहेको आरोप लागेका २२ वर्षीय युवक हाल फरार रहेको जनाइएको छ ।
घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले आरोपितको नाम सार्वजनिक गरेको छैन ।
घटनापछि स्थानीयस्तरमै मिलापत्र गराउने प्रयास भएको र त्यसपछि पीडित परिवारले इलाका प्रहरी कार्यालय सबैलामा जाहेरी दिएको जनाइएको छ ।
जाहेरी प्राप्त भएपछि प्रहरीले बालिकाको बयानका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
पीडित बालिका र आरोपितबीच पारिवारिक नाता पर्ने भएकाले घटना थप संवेदनशील रहेको प्रहरीको भनाइ छ ।
बालिकालाई उपचार तथा स्वास्थ्य परीक्षणका लागि जनकपुरधामस्थित अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
स्वास्थ्य परीक्षणको प्रतिवेदन तथा अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।


