काठमाडौं, २६ भदौ । सप्तरीको राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले आर्थिक अभावका कारण अस्पतालको गेटमै बच्चा जन्माउनुपरेको घटनाबारे प्रतिनिधिसभामा सरकारसँग जवाफ मागिएको छ ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले पासवानले भोग्नुपरेको घटनालाई सामान्य घटनाका रूपमा लिन नहुने भन्दै यसले राज्यको स्वास्थ्य नीति तथा सुरक्षित मातृत्वसम्बन्धी व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले नागरिकले आधारभूत स्वास्थ्य सेवासमेत सहज रूपमा पाउन नसक्नु गम्भीर विषय भएको बताए । उनले यस्ता घटनाप्रति सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने भन्दै घटनाको सम्बोधनका लागि आवश्यक कदम चाल्न आग्रह गरे ।

उनले पछिल्लो समय देशले विभिन्न पीडा भोगिरहेको उल्लेख गर्दै तीन वर्षीय बालिकामाथि बलात्कारपछि हत्या भएको घटनादेखि भोटेकोशीमा आएको अकल्पनीय बाढीसम्मका घटनाले नागरिकलाई प्रताडित बनाइरहेको बताए । यही अवस्थामा सुरक्षित मातृत्वका लागि अस्पताल पुगेकी महिलाले आर्थिक अभावकै कारण अस्पतालको गेटमा बच्चा जन्माउनुपरेको घटना थप पीडादायी भएको उनको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले सुरक्षित मातृत्व सुनिश्चित गर्न आवश्यक नीति परिवर्तन गर्नुपर्ने बताइन् । सरकारले आवश्यक नीति तथा व्यवस्था अघि बढाउनुपर्ने र त्यसका लागि संसद्ले सहयोग गर्ने उनको भनाइ थियो ।

नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले अस्पतालबाट सुत्केरी निकालिनु दुःखद् घटनामात्र नभई सरकारको गैरजिम्मेवारीको उदाहरण भएको टिप्पणी गरिन् । उनले अस्पतालको पेटीमा नयाँ जीवन जन्मिनुसँगै सरकारको संवेदनहीनता र गैरजिम्मेवारीपन पनि उजागर भएको बताइन् ।

नेपाली कांग्रेसकी सांसद गीता गुरुङले आर्थिक अभावका कारण अस्पताल बाहिरै सुत्केरी हुनुपर्ने अवस्था आउनु लज्जास्पद भएको बताइन् । सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको भएको भन्दै उनले सरकारले नागरिकलाई निःशुल्क तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा स्पष्ट जवाफ दिनुपर्ने माग गरिन् ।

सांसदहरूले बबिता पासवानको घटनालाई आधार बनाएर सुरक्षित मातृत्व, आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था तथा अस्पतालमा उपलब्ध गराइने सेवाको प्रभावकारिताबारे सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।