लहानमा कुटपिटबाट १७ वर्षीय किशोर घाइते, दुई जना पक्राउ
सिरहा, २६ भदौ । सिरहाको लहान नगरपालिका–४ स्थित हुलाक रोडमा आपसी विवादका क्रममा भएको कुटपिटबाट एक किशोर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कुटपिटबाट भगवानपुर गाउँपालिका–५ इनरवा निवासी १७ वर्षीय आयुषकुमार मण्डल घाइते भएका हुन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका–२ का १९ वर्षीय राजु यादव र वडा नम्बर–१ का २० वर्षीय बलराम यादवलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।
घाइते मण्डलको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ । कुटपिटको वास्तविक कारण भने खुलिनसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी पाठकले बताए ।


