लाइसेन्स प्रयोग गरेको भरमा क्लिनिक कब्जा गर्न खोजिएको आरोप
जनकपुरधाम, २६ भदौ । जनकपुरधाममा सञ्चालित जनकपुर हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरका सञ्चालक दाबी गर्ने भरत यादवले कार्यरत चिकित्सक डा. शशिशेखर अधिकारीले स्वास्थ्य संस्था कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
विसं २०७८ सालमा स्थापना भएको उक्त स्वास्थ्य संस्थामा आफूले सुरुदेखि नै लगानी तथा सञ्चालन गर्दै आएको यादवको दाबी छ ।
उनले स्वास्थ्य संस्था दर्ता गर्ने क्रममा औपचारिक प्रक्रिया पूरा गर्न डा. अधिकारीको चिकित्सकीय लाइसेन्स प्रयोग गरिएको तर त्यसैलाई आधार बनाएर अहिले संस्थामाथि आफ्नो स्वामित्व दाबी गर्न खोजिएको आरोप लगाए ।
यादवका अनुसार डा. अधिकारी आफूहरूकै चिनजानका व्यक्ति भएकाले क्लिनिक दर्ताका लागि उनको लाइसेन्स प्रयोग गरिएको थियो । फार्मेसी पहिलेदेखि नै दर्तामा रहेको र क्लिनिक सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्न चिकित्सकको लाइसेन्स प्रयोग गरिएको उनको भनाइ छ ।
यादवले आफूले विगत पाँच वर्षदेखि स्वास्थ्य संस्था सञ्चालन गर्दै आएको र डा. अधिकारी सोही संस्थामा चिकित्सकका रूपमा कार्यरत रहेको बताए । पछिल्लो समय डा. अधिकारीले अल्ट्रासाउण्ड सेवा सञ्चालनका लागि क्लिनिक परिसरमा कोठा मागेपछि विवाद सुरु भएको उनको दाबी छ ।
उनका अनुसार अल्ट्रासाउण्ड मेसिन राख्न कोठा उपलब्ध गराए पनि त्यसबापत मासिक ८ हजार रुपैयाँ भाडा मागेपछि विवाद बढेको हो । भाडा मागेको विषयलाई लिएर डा. अधिकारी पक्षसँग विवाद भएको र पछि आफूलाई स्वास्थ्य संस्थाबाट हटाउने प्रयास भएको यादवले आरोप लगाए ।
विवादकै क्रममा धक्कामुक्की हुँदा आफ्नो बुवालाई चोट लागेको यादवले बताए । घटनापछि आफूविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दासमेत दर्ता भएको उनले जानकारी दिए ।
आफू नै स्वास्थ्य संस्थाको सञ्चालक भएको दाबी पुष्टि गर्न यादवले संस्थाको दर्तासम्बन्धी कागजात, गुठीको जग्गा लिजमा लिएको प्रमाण, राजस्वमा दर्तासम्बन्धी कागजात तथा क्लिनिक सञ्चालनका क्रममा गरिएका पूजाआजासम्बन्धी प्रमाणहरू सार्वजनिक गरे । चिकित्सकीय लाइसेन्स प्रयोग गरेको विषयलाई मात्र आधार बनाएर स्वास्थ्य संस्थामाथि कब्जा गर्न खोजिएको उनको आरोप छ ।
यादवले पछिल्लो १० दिनदेखि डा. अधिकारी पक्षले क्लिनिक आफ्नो नियन्त्रणमा लिएर सञ्चालन गरिरहेको आरोपसमेत लगाए । त्यसविरुद्ध आफूले उच्च अदालत जनकपुरबाट निषेधाज्ञाको आदेश लिएको र स्वास्थ्य संस्था फिर्ता प्राप्तिका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए ।
यता, डा. शशिशेखर अधिकारीसँग यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले आफू व्यस्त रहेको भन्दै तत्काल प्रतिक्रिया दिन चाहेनन् । त्यसैले यादवले लगाएका आरोपबारे अधिकारी पक्षको विस्तृत धारणा प्राप्त हुन सकेन ।
स्वास्थ्य संस्था सञ्चालन, स्वामित्व तथा चिकित्सकीय लाइसेन्सको प्रयोगसम्बन्धी विवाद अहिले कानुनी प्रक्रियामा पुगेको छ ।


