महोत्तरी, २५ भदौ । विश्व आत्महत्या रोकथाम दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी महोत्तरीमा पनि मनाइएको छ ।

दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहान प्रभातफेरी निकालिनुका साथै कोणसभा आयोजना गरेको हो ।

सहभागीहरूले आत्महत्या रोकथाम, मानसिक स्वास्थ्यप्रति सचेतना तथा समस्यामा परेकालाई सहयोग गर्नुपर्ने सन्देशसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आत्महत्या रोकथाम सबैको साझा जिम्मेवारी भएकाले मानसिक तनावमा रहेका व्यक्तिको समस्या सुन्ने, सहयोग गर्ने र समयमै उचित परामर्श तथा उपचारको पहुँचमा पुर्याउनुपर्ने बताए ।

उनले आत्महत्यालाई व्यक्तिगत समस्या भनेर मात्र नहेरी परिवार, समुदाय र राज्यको समन्वयमा रोकथामका प्रयास अघि बढाउनुपर्नेमा जोड दिए ।

समस्यामा परेका व्यक्तिलाई एक्लो महसुस हुन नदिन परिवार तथा समुदायले सहानुभूति र सहयोगको वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

प्रभातफेरीपछि आयोजित कोणसभामा आत्महत्या रोकथामका उपाय, मानसिक स्वास्थ्यको महत्व र जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग गर्ने विषयमा सचेतना फैलाइएको थियो ।