रसुवा बाढी अपडेट: मृतकको संख्या १ हजार ३ सय ६७ पुग्यो, अझै ५ हजारभन्दा बढी सम्पर्कविहीन
जनकपुरधाम, २४ भदौ । रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको विनाशकारी बाढी र त्यसबाट प्रभावित क्षेत्रमा मानवीय क्षति बढ्दै गएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ११ बजेसम्म बाढी तथा पहिरोमा परी १ हजार ३ सय ६७ जनाको मानवीय क्षति भएको छ ।
प्राधिकरणका अनुसार अझै करिब ५ हजार १ सय ३२ जना सम्पर्कविहीन छन् । रसुवाबाट मात्रै २ हजार ८ सय ६० जना सम्पर्कविहीन रहेको विवरण छ ।
त्यसमध्ये रसुवा जिल्लाका १ हजार ३ सय ९३ र अन्य जिल्लाका १ हजार २ सय ८६ जना छन् ।
त्यस्तै, नुवाकोटबाट १ हजार ७ सय ८७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । नुवाकोटका ६ सय ५१ र अन्य जिल्लाका १ हजार १ सय ३६ जना सम्पर्कविहीन छन् ।
विदेशी पर्यटक करिब ५ सय ८७ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । यद्यपि, सम्पर्कविहीनको तथ्यांकमा पहिचान नभएका शव तथा उद्धार भइसकेका व्यक्तिसमेत समावेश हुन सक्ने भएकाले विवरण रुजु गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
बाढी प्रभावित विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव फेला परेका छन् । रसुवामा १ सय ७४, नुवाकोटमा १ सय ९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३ सय ६३, नवलपरासी पूर्वमा २ सय २६ र नवलपरासी पश्चिममा २ सय २२ शव फेला परेका छन् । काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको समेत विवरण समेटिएको छ ।
हालसम्म १ सय २ शवको सनाखत भई आफन्तलाई बुझाइएको छ । पहिचान हुन नसकेका शवको सनाखतका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणित कागजातसहित डीएनए नमुना दिन सकिने व्यवस्था गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी छ । हालसम्म १३ हजार ६ सय ४६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित २१ हजार १ सय ८५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
परिचालित सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीका ७ हजार ९ सय ७५, नेपाली सेनाका ९ हजार ७ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना छन् ।
उद्धारका क्रममा नेपाली सेनाले भदौ २२ गतेसम्म १ हजार २ सय ६४ पटक हवाई उडान गरेको छ भने भदौ २४ गते मात्रै थप २१ उडान गरेको जनाएको छ । सशस्त्र प्रहरी बलले प्रभावित क्षेत्रमा २ सय ५८ पटक हवाई उडान गरेको छ ।
उद्धार गरिएका तथा विस्थापितलाई राख्न रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन् । ती केन्द्रमा कुल ३ हजार ६ सय २८ जना रहेका छन् ।
नुवाकोटमा २ हजार ६ सय ९९, रसुवामा ७ सय ३३ र धादिङमा १ सय ९६ जना रहेका छन् ।
घाइतेको उपचार पनि विभिन्न अस्पतालमा भइरहेको छ । १० वटा अस्पतालमा ३ सय २९ जनाको उपचार गरिएकोमा २ सय ५२ जना डिस्चार्ज भइसकेका छन् ।
नेपाली सेनाबाट ३ हजार ५ सय ३५ तथा सशस्त्र प्रहरीबाट ३ हजार २ सय ८७ जनालाई उपचार सेवा दिइएको प्राधिकरणले जनाएको छ ।
सरकारले प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि नगद सहयोगसमेत उपलब्ध गराएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
सडक तथा हवाई मार्गमार्फत खाद्य तथा गैरखाद्य राहत सामग्री प्रभावित क्षेत्रमा निरन्तर पठाइरहेको प्राधिकरणले जनाएको छ ।
विपद्को समयमा सरकारी निकायसँगै गैरसरकारी संस्था, निजी क्षेत्र, विकास साझेदार तथा नागरिक समाजबाट पनि राहत व्यवस्थापनमा सहयोग भइरहेको छ ।
प्रभावित क्षेत्रमा इन्धनको मौज्दात व्यवस्थापनसमेत गरिएको छ । हाल ४९ हजार लिटर डिजेल, २२ हजार लिटर पेट्रोल र १५ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ । साथै ४ सय ५७ ग्यास सिलिन्डर अनुदानमा प्रभावित क्षेत्रमा पठाइएको छ ।
विपद्बाट प्रभावित नागरिकको मानसिक स्वास्थ्यलाई ध्यान दिँदै स्वास्थ्य मन्त्रालयमार्फत १ सय ५० जनाभन्दा बढी जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
सरकारले उद्धारसँगै राहत, उपचार, शव पहिचान तथा विस्थापितको व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।



