जनकपुरधाम, २३ भदौ । रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत अभियानका क्रममा मानवीय क्षतिको संख्या १ हजार ३५८ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार साँझ ६ बजेसम्म विभिन्न जिल्लामा गरी १ हजार ३५८ जनाको शव फेला परेको हो ।

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १७०, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ वटा छन् । नवलपरासी पश्चिममा फेला परेका शवमा विभिन्न मानव अंगसमेत समावेश रहेको प्राधिकरणले जनाएको छ ।

हालसम्म १ हजार २८ वटा शवको सनाखत भइसकेको छ भने १०२ वटा शवको पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ । आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुईवटा फोटो र नाता प्रमाणित कागजातसहित डीएनए नमुना दिन सक्ने व्यवस्था गरिएको छ ।

बाढी तथा विपद्मा परी घाइते भएका ७ हजार ३७ जनाको उपचार भइसकेको छ । विभिन्न १० वटा अस्पतालमा ३२९ जनाको उपचार गरिएकोमा २५२ जना डिस्चार्ज भएका छन् । नेपाली सेनाबाट ३ हजार ४२१ तथा सशस्त्र प्रहरीबाट ३ हजार २८७ जनाको उपचार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

उद्धार गरिएका व्यक्तिको संख्या १३ हजार ५८३ पुगेको छ । प्रभावित क्षेत्रबाट उद्धार गरिएकामध्ये ३७ वटा होल्डिङ सेन्टरमा ३ हजार ६२८ जनालाई राखिएको छ । नुवाकोटका होल्डिङ सेन्टरमा २ हजार ६९९, रसुवामा ७३३ र धादिङमा १९६ जना रहेका छन् ।

तर, अझै करिब ५ हजार ३२६ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ । रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन छन् । यसमा रसुवाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेना ४५, नेपाल प्रहरी २५, सशस्त्र प्रहरी १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी रहेका छन् ।

त्यस्तै, नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार करिब १ हजार ९८१ नेपाली नागरिक र ५८७ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको उल्लेख छ । यद्यपि, सम्पर्कविहीनको तथ्यांकमा पहिचान नभएका शव तथा उद्धार गरिएका व्यक्तिसमेत समावेश हुनसक्ने भएकाले तथ्यांक रुजु गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

खोज तथा उद्धारका लागि २१ हजार १४६ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार ३१ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन् ।

हवाई उद्धार तथा राहत वितरणलाई समेत निरन्तरता दिइएको छ । भदौ २२ गतेसम्म नेपाली सेनाले १ हजार १५७ पटक हवाई उडान गरेको छ भने भदौ २३ गते नेपाली सेना र निजी हेलिकप्टरमार्फत थप ११२ उडान भएका छन् । काठमाडौंस्थित निजी क्षेत्रका हेलिकप्टरमार्फत १२९ तथा सशस्त्र प्रहरी बलमार्फत प्रभावित क्षेत्रमा २१० पटक उडान गरिएको प्राधिकरणले जनाएको छ ।

सरकारले रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । प्रभावित १५ पालिकालाई थप १३ करोड ५० लाख रुपैयाँ राहत उपलब्ध गराइएको छ ।

प्रभावित क्षेत्रमा खाद्यान्न आपूर्ति सहज बनाउन भदौ २३ गते दुईवटा हेलिकप्टरमार्फत रसुवामा खाद्यान्न ढुवानी गरिएको छ । इन्धनतर्फ डिजेल ४५ हजार लिटर, पेट्रोल १६ हजार लिटर र हवाई इन्धन १६ हजार लिटर मौज्दात रहेको जनाइएको छ । साथै ४५७ वटा ग्यास सिलिन्डर अनुदानमा प्रभावित क्षेत्रमा पठाइएको छ ।

विपद्पछिको मानसिक स्वास्थ्यलाई ध्यान दिँदै स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरी मनोसामाजिक परामर्शसमेत दिइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सम्पर्कविहीन, उपचाररत तथा उद्धार गरिएका व्यक्तिको विवरण आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको जनाएको छ । साथै, सार्वजनिक गरिएको तथ्यांक निरन्तर अद्यावधिक र रुजु भइरहेको प्राधिकरणको भनाइ छ ।