जनकपुरधाम, २३ भदौ । बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि स्थापना गरिएका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म दुवै कोषमा गरी ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २ सय ६१ रुपैयाँ जम्मा भएको हो ।

कार्यालयका अनुसार हाल नौ वटा वाणिज्य बैंकमा रहेको कोषको खातामा ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २ सय २३ रुपैयाँ मौज्दात रहेको छ ।

कोषमा जम्मा भएको रकममध्ये यसअघि १ अर्ब रुपैयाँ रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यस्तै, विदेशी मुद्रातर्फ हिमालयन बैंक लिमिटेड र लक्ष्मी सन्राइज बैंक लिमिटेडमा रहेको डलर खातामा २ करोड ११ लाख ८ हजार ४ सय ७१ रुपैयाँ जम्मा भएको कार्यालयले जनाएको छ ।

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि विभिन्न व्यक्ति, सरकारी निकाय, व्यवसायी, संघसंस्था तथा अन्य क्षेत्रबाट कोषमा सहयोग रकम जम्मा भइरहेको छ ।

सरकारले कोषमा प्राप्त रकमलाई विपद् प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा परिचालन गर्दै आएको जनाएको छ । विशेषगरी रसुवालगायत बाढी प्रभावित जिल्लामा राहत, उद्धार तथा पुनःस्थापनाका लागि कोषको रकम परिचालन भइरहेको छ ।