जनकपुरधाम, २२ भदौ । रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा मानवीय क्षति बढ्दै गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीजन्य विपद्मा परी हालसम्म १ हजार ३५६ जनाको मृत्यु भएको छ ।

प्राधिकरणले सोमबार साँझ ६ बजे सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा मात्रै ३६३ शव भेटिएका छन् ।

त्यस्तै, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन् ।

हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ । पहिचान हुन नसकेका शवको पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत दुईवटा फोटो तथा नाता प्रमाणित कागजातसहित डीएनए नमुना दिन सकिने व्यवस्था गरिएको छ ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा ६ हजार ६७६ जना घाइतेको उपचार गरिएको छ । विभिन्न १० वटा अस्पतालमा ३२७ जनाको उपचार गरिएकोमा २४२ जना डिस्चार्ज भएका छन् । नेपाली सेनाले ३ हजार ३७९ जना र सशस्त्र प्रहरी बलले २ हजार ९७० जनाको उपचार गरेको विवरणमा उल्लेख छ ।

उद्धारपछि विभिन्न जिल्लामा स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरमा ३ हजार ५३३ जना राखिएका छन् । तीमध्ये नुवाकोटमा २ हजार ६५१, रसुवामा ६६९ र धादिङमा २१३ जना रहेका छन् ।

करिब ५ हजार अझै सम्पर्कविहीन
प्राधिकरणका अनुसार बाढीपछि करिब ४ हजार ९९४ जना सम्पर्कविहीन छन् । रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार १ हजार ९६७ नेपाली नागरिक, नुवाकोटबाट २ हजार ३४० नेपाली नागरिक, करिब १०० सुरक्षाकर्मी तथा कर्मचारी र करिब ५८७ विदेशी पर्यटक सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ ।

तर, सम्पर्कविहीनको तथ्यांकमा पहिचान हुन नसकेका शव तथा उद्धार गरिएका व्यक्तिसमेत समावेश हुन सक्ने भएकाले विवरण रुजु गर्ने काम भइरहेको प्राधिकरणले स्पष्ट पारेको छ ।

यसैबीच, बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन भएका छन् ।

जसमध्ये नेपाली प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

राहत र उद्धारमा हवाई उडान तीव्र
सोमबार प्रभावित जिल्लामा दुईवटा हेलिकप्टरबाट खाद्यान्न तथा बन्दोवस्तीका सामग्री पठाइएको छ । त्यस्तै, आठवटा मिनी ट्रकमार्फत खाद्यान्न तथा गैरखाद्य सामग्री ढुवानी गरिएको छ ।

उद्धार तथा राहतका लागि हालसम्म नेपाली सेनाले १ हजार १५७ पटक हवाई उडान गरेको छ । निजी क्षेत्रका हेलिकप्टरले काठमाडौं हुँदै १२९ पटक र सशस्त्र प्रहरी बलले प्रभावित क्षेत्रमा १९३ पटक हवाई उडान गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमार्फत प्रभावित क्षेत्रमा १५० भन्दा बढी जनशक्ति मनोसामाजिक परामर्श तथा स्वास्थ्य सेवाका लागि परिचालन गरिएको छ ।

विद्युत र सञ्चार सेवा क्रमशः सामान्य
बाढीबाट प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पनि क्रमशः पुनःस्थापित भइरहेको छ । रसुवाका ७८५ घरधुरीमा विद्युत सेवा सुचारु भएको छ भने नुवाकोटमा ९६.७५ प्रतिशत र धादिङमा ९९.८५ प्रतिशत घरधुरीमा विद्युत सेवा पुनः सञ्चालनमा आएको छ ।

सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११७ टावर सञ्चालनमा आएका छन् । एनसेलका ७८ मध्ये ७६ टावर सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ ।

सरकारले प्रभावित क्षेत्रमा राहत व्यवस्थापनका लागि रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । यस्तै प्रभावित १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ ।

इन्धनतर्फ प्रभावित क्षेत्रमा ५५ हजार लिटर डिजेल, २३ हजार लिटर पेट्रोल र १९ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ । साथै ४५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको छ ।

प्राधिकरणले सम्पर्कविहीन, उपचाररत तथा उद्धार गरिएका व्यक्तिहरूको विवरण आफ्नो वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिरहेको जनाएको छ । यद्यपि, तथ्यांक संकलन र रुजु गर्ने काम जारी रहेकाले विवरणमा फेरबदल हुन सक्ने प्राधिकरणको भनाइ छ ।