भाइरल भिडियोपछि पक्राउ परेका दुई युवक छुटे
विराटनगर, २२ भदौ । विराटनगरको महेन्द्र चोकमा दुई स्कुले किशोरीलाई मोटरसाइकलमा सवार दुई युवकले हातको इसारा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि पक्राउ परेका दुई युवकलाई प्रहरीले दुई दिनपछि आफन्तको जिम्मा लगाएर छाडेको छ ।
भिडियो सार्वजनिक भएपछि स्कुल ड्रेसमा रहेका किशोरीमाथि दुर्व्यवहार भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना र कारबाहीको माग उठेको थियो । त्यसपछि प्रहरीले विराटनगर–४ का ३५ वर्षीय महेशकुमार मण्डल र ३३ वर्षीय अखिलेशकुमार प्रसादलाई नियन्त्रणमा लिएको थियो ।
तर, अनुसन्धानका क्रममा घटना सामाजिक सञ्जालमा प्रस्तुत भएजस्तो नरहेको दाबी पक्राउ परेका युवक र किशोरी दुवै पक्षबाट आएको छ । युवकहरूले प्रहरीसमक्ष आफूहरूले किशोरीहरूलाई जेब्राक्रसबाट बाटो काट्न संकेत गरेको बताएका छन् । किशोरीहरूले समेत आफूहरूमाथि कुनै दुर्व्यवहार महसुस नभएको बताएका छन् ।
मोरङ प्रहरीका अनुसार दुई युवकले बीच सडकमा गुडिरहेको मोटरसाइकलबाट किशोरीतर्फ इसारा गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् । किशोरीहरूले दुर्व्यवहार नभएको बताएपछि उनीहरूलाई आफन्तको जिम्मा लगाएर छाडिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले बताए । यद्यपि, युवकविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा भने प्रक्रियामै रहेको प्रहरीले जनाएको छ ।
भिडियो भाइरल भएपछि बढ्यो दबाब
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयका एक कर्मचारीले खिचेको भनिएको उक्त भिडियो बुधबार बिहान सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडियोमा जेब्राक्रस नजिकै सडक पार गर्न लागेका दुई छात्रालाई मोटरसाइकलमा सवार दुई युवकले हातको इशारा गरिरहेको देखिन्छ ।
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा घटनाबारे फरकफरक धारणा देखिए । केहीले युवकहरूको व्यवहारलाई अभद्र भन्दै कारबाहीको माग गरे भने केहीले उनीहरूले सडक पार गर्दा सावधानी अपनाउन मात्र संकेत गरेको हुनसक्ने बताएका थिए ।
सामाजिक सञ्जालमा दबाब बढेपछि प्रहरीले शुक्रबार दुवै युवकलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको थियो ।
तर, पक्राउ परेपछि पीडित भनिएका किशोरीहरूकै तर्फबाट सामाजिक सञ्जालमा असन्तुष्टि सार्वजनिक भयो । उनीहरूले आफूहरूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै घटनालाई गलत ढंगले प्रस्तुत गरिएको बताएका थिए ।
‘उहाँहरूले बाटो हिँड्न अनुरोध गर्नुभएको थियो’
किशोरीहरूको तर्फबाट सामाजिक सञ्जालमा सार्वजनिक गरिएको प्रतिक्रियामा घटनाको वास्तविकता नबुझी समाचार र सामाजिक सञ्जालमा गलत ढंगले प्रस्तुत गरिएको भन्दै प्रश्न उठाइएको थियो ।
उनीहरूको भनाइअनुसार युवकहरूले आफूहरूलाई बाटो हिँड्न अनुरोध गरेका थिए र त्यसपछि दुवै पक्ष आ–आफ्नो बाटो लागेका थिए । उक्त प्रतिक्रिया पछि सामाजिक सञ्जालबाट हटाइएको थियो ।
मोरङ प्रहरी प्रमुख कटवालका अनुसार भिडियोमा देखिएका किशोरीहरूले समेत आफूहरूलाई अभद्र व्यवहार भएको महसुस नगरेको बताएका छन् ।
प्रहरीको अनुसन्धानमाथि पनि प्रश्न
घटनामा पक्राउ परेका युवकहरूलाई दुई दिनपछि छाडिएसँगै सामाजिक सञ्जालमा प्रहरीको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ ।
आलोचकहरूले भिडियोमा देखिएको दृश्यका आधारमा मात्र पक्राउ गर्नुभन्दा पहिले घटनामा संलग्न पक्षको बयान तथा वास्तविक अवस्था बुझ्नुपर्ने बताएका छन् । पक्राउ परेका युवकहरूको पक्षमा रहेका व्यक्तिहरूले पनि उजुरी नपरेको अवस्थामा हतारमा पक्राउ गरी बदनाम गरिएको दाबी गरेका छन् ।
तर, प्रहरीले भने भिडियो सार्वजनिक भएपछि घटनाको सम्भावित आपराधिक पक्षबारे अनुसन्धान गर्नु आफ्नो दायित्व भएको बताएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले बाटोमा हिँडिरहेका युवतीलाई असम्बन्धित व्यक्तिले रोकेर इसारा गर्नुको उद्देश्यबारे अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको बताए । नजिकै ट्राफिक प्रहरी हुँदाहुँदै किशोरीलाई नै लक्षित गरी गरिएको व्यवहारले शंका उत्पन्न भएकाले प्रहरीले घटनालाई गम्भीर रूपमा लिएको उनको भनाइ छ ।
उनले पछिल्लो समय सडकमा दुर्व्यवहार तथा गहना लुटपाटजस्ता घटना गर्ने समूह सक्रिय रहेको भन्दै यस्ता गतिविधिलाई सूक्ष्म रूपमा हेर्नुपर्ने बताए । अपराधीहरूले कहिलेकाहीँ सहयोग वा सिकाउने बहानासमेत प्रयोग गर्न सक्ने भएकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।
मोरङ प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको यो पहिलो घटना भने होइन । यसअघि कुटपिट घटनाका आरोपीको खोजी गर्ने क्रममा प्रहरी टोली कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको क्वार्टरमा प्रवेश गरी छापा मारेको घटना विवादमा आएको थियो ।
त्यस्तै, विराटनगरको व्यापारिक घराना देवनरा समूहको घरमा छापा मार्दा समेत प्रहरीले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै प्रहरीको अनुसन्धान शैलीमाथि प्रश्न उठेको थियो ।


