जनकपुरधाम, २२ भदौ । रामेछापको खाँडादेवी गाउँपालिकामा वृद्ध दम्पतीलाई बन्धक बनाएर गरगहना तथा नगद लुटपाट गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलमा गत भदौ १८ गते राति करिब १२ बजे ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङ घरमा सुतिरहेको अवस्थामा तीन जना नकाबधारी व्यक्ति घरभित्र प्रवेश गरेका थिए ।

प्रहरीका अनुसार उनीहरूले वृद्ध दम्पतीको हात प्लास्टिकको टेपले बाँधेर मुख थुनेका तथा आँखामा पट्टी लगाई ज्यान मार्ने धम्की दिएका थिए । त्यसपछि घरमा रहेको नगद तथा वृद्ध दम्पतीले लगाएका गरगहना लुटेर उनीहरू फरार भएका थिए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले डकैतीमा संलग्न रहेको आरोपमा पाँच जनालाई भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली घ्याङलेख गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछाप खाँडादेवी–२ का ३२ वर्षीय दिर्घराज मोक्तान, सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापा दमक–७ का ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटा बेलाहारा–५ का ३८ वर्षीय दीपक भन्ने गुणराज विश्वकर्मा रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट नगद, मोबाइल, मोटरसाइकल, बैंकसम्बन्धी कागजात, घटनामा प्रयोग भएका कपडा तथा सुनजस्तो पहेँलो धातुका गरगहना लगायतका सामग्री बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार सुमन जर्घा मगरको साथबाट २५ हजार रुपैयाँ नगद, रेडमी मोबाइल र २२० सीसीको मोटरसाइकल बरामद भएको छ ।

दिर्घराज मोक्तानबाट ५२ हजार २ सय रुपैयाँ नगद, नागरिकता, राहदानी, बैंकको चेक तथा घटनामा प्रयोग भएको ज्याकेट र हाफकट्टु बरामद गरिएको छ ।

त्यस्तै, पशुपति श्रेष्ठबाट मोटरसाइकल, ६ हजार ४ सय ६० रुपैयाँ नगद, मोबाइल, बैंक खातामा रहेको रकमसम्बन्धी विवरण, सहकारीको बचत पुस्तिका, बुद्धचित्तका दाना, पानस–टुकी, पुराना सिक्का तथा सुनजस्तो पहेँलो धातुको औँठी बरामद भएको प्रहरीले जनाएको छ ।

पिताम्बर गहतराजबाट मोबाइल र गुणराज विश्वकर्माबाट सुनजस्तो पहेँलो धातुका दुई वटा रिङ बरामद गरिएको छ ।

अन्य चोरीका घटनामा पनि संलग्नता
प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका पशुपति श्रेष्ठको समूह अन्य चोरीका घटनामा समेत संलग्न रहेको खुलेको छ ।

प्रहरीका अनुसार उक्त समूहले खाँडादेवी गाउँपालिका–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दान पेटिका फुटाएर रकम चोरी गरेको पाइएको छ ।

यस्तै, खाँडादेवी–३ की सुन्दरी श्रेष्ठको करिब २८/३० किलोको खसी तथा सोही वडाका रामबहादुर श्रेष्ठको गोठबाट करिब १५ किलोको बोका चोरी गरेको घटनामा पनि समूहको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीको Criminal Record System (CRS) जाँच गर्दा पशुपति श्रेष्ठविरुद्ध यसअघि काठमाडौंको कालीमाटी प्रहरी वृत्तमा डाँका तथा चोरीसम्बन्धी मुद्दा चलेको देखिएको छ ।

दिर्घराज मोक्तानविरुद्ध रामेछाप प्रहरीमा अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको र गुणराज विश्वकर्माविरुद्ध बौद्ध प्रहरी वृत्त काठमाडौंमा जुवासम्बन्धी कसूरको मुद्दा चलेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।