जनकपुरधाम, २२ भदौ । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ३५५ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ११ बजेसम्म विभिन्न जिल्लामा १ हजार ३५५ जनाको मानवीय क्षति भएको हो ।

प्राधिकरणका अनुसार रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७० र गोरखामा ७५ शव फेला परेका छन् । त्यस्तै, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव तथा विभिन्न मानव अंग फेला परेको जनाइएको छ ।

बाढीपछि अझै करिब ४ हजार ९९६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । यद्यपि, सम्पर्कविहीनको सूचीमा पहिचान हुन नसकेका शव तथा उद्धार गरिएका केही व्यक्तिसमेत समावेश भएको हुनसक्ने भएकाले तथ्यांक रुजु गर्ने काम भइरहेको छ ।

हालसम्म ९८ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ । बाढी तथा पहिरोमा घाइते भएका ६ हजार ६७२ जनाको उपचार भइसकेको छ ।

विभिन्न अस्पतालमा ३२३ जना उपचाररत छन् भने २२८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

उद्धार तथा उपचारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । नेपाली सेनाबाट ३ हजार ३७९, सशस्त्र प्रहरीबाट २ हजार ९७० र अन्य स्वास्थ्य संस्थामार्फत घाइतेको उपचार गरिएको प्राधिकरणले जनाएको छ ।

विपद् प्रभावित क्षेत्रमा २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन् ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । रसुवा र नुवाकोटमा ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक प्रभावित भएका छन् । ३९ वटा होल्डिङ सेन्टरमा हाल ३ हजार ५३३ जना रहेका छन् ।

उद्धार तथा राहतका लागि नेपाली सेनाले हालसम्म १ हजार १५७ पटक हवाई उडान गरेको छ । सशस्त्र प्रहरीले १९३ पटक र निजी क्षेत्रका हेलिकप्टरले काठमाडौंंबाट प्रभावित क्षेत्रमा १२९ पटक उडान गरेका छन् ।

विद्युत आपूर्ति भने क्रमशः सुधार हुँदै गएको छ । रसुवामा ७८ प्रतिशत, नुवाकोटमा ९६ दशमलव ७ प्रतिशत र धादिङमा ९९ दशमलव ८ प्रतिशत घरधुरीमा विद्युत सेवा पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

सरकारले प्रभावित जिल्लाका लागि नगद राहतसमेत उपलब्ध गराएको छ । रसुवा र नुवाकोटलाई एक–एक करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

प्रभावित क्षेत्रमा हाल ५८ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ । थप रूपमा ४५७ ग्यास सिलिन्डर अनुदानमा पठाइएको छ ।

सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११७ वटा टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७६ वटा टावर सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना स्वास्थ्य जनशक्ति परिचालन गरिएको छ भने मनोसामाजिक परामर्श सेवासमेत सञ्चालन भइरहेको छ ।

राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन प्रभावित क्षेत्रमा खाद्यान्न, जेनेरेटर, हाइजिन किट र विद्यार्थीका लागि आवश्यक सामग्रीसमेत पुर्‍याइएको प्राधिकरणले जनाएको छ ।

उद्धार, उपचार र सम्पर्कविहीन व्यक्तिहरूको विवरण रुजु गर्ने काम जारी रहेकाले आगामी दिनमा तथ्यांकमा फेरबदल हुन सक्ने बताइएको छ ।