जनकपुर बोल्ट्सको व्यवस्थापनबाट सिग्देलले लिए बिदा
जनकपुरधाम, २१ भदौ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सका सञ्चालक उत्सव सिग्देलले टोली तथा ड्रीम स्पोर्ट्स प्रालिबाट आफू अलग भएको घोषणा गरेका छन् ।
सिग्देलले सामाजिक सञ्जालमार्फत तत्काल लागू हुने गरी जनकपुर बोल्ट्स र ड्रीम स्पोर्ट्सको दैनिक सञ्चालन तथा व्यवस्थापकीय जिम्मेवारीबाट बाहिरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार अब उनी संस्थाको दैनिक प्रशासन, वित्तीय निर्णय, खेलाडी तथा कर्मचारी व्यवस्थापनलगायत सञ्चालनसँग सम्बन्धित कुनै पनि भूमिकामा रहने छैनन् ।
सिग्देलले आगामी दिनमा जनकपुर बोल्ट्स वा ड्रीम स्पोर्ट्सको आधिकारिक प्रतिनिधित्व, प्रतिबद्धता, कारोबार वा सञ्चारसँग आफ्नो नाम नजोड्न पनि आग्रह गरेका छन् ।
साथै, संस्थाबाट हुने आगामी निर्णय तथा सिर्जना हुने दायित्वमा आफू जिम्मेवार नरहने स्पष्ट पारेका छन् ।
जनकपुर बोल्ट्ससँगको यात्रामा साथ दिने समर्थक, खेलाडी, कर्मचारी तथा शुभेच्छुकप्रति उनले आभार व्यक्त गरेका छन् । उक्त यात्राबाट प्राप्त अनुभव र सम्बन्धलाई आफूले सधैँ स्मरण गर्ने उनको भनाइ छ ।
टोलीको व्यवस्थापनबाट अलग भए पनि नेपाली खेलकुदप्रतिको आफ्नो प्रतिबद्धता भने कायमै रहने सिग्देलले बताए ।
उनले आगामी दिनमा नयाँ परियोजना तथा पहलमार्फत नेपाली खेलकुदको विकासमा योगदान गर्ने इच्छा व्यक्त गर्दै जनकपुर बोल्ट्स र ड्रीम स्पोर्ट्सको आगामी यात्राका लागि शुभकामना दिएका छन् ।


