जनकपुरधाम, २१ भदौ । भोटेकोशी बाढीपछि १२ दिनदेखि सम्पर्कविहीन रहेका धनुषाका अजय सिंहको खोज तथा उद्धारका लागि उनकी पत्नी पूजा साहले सम्बन्धित निकायसँग तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेकी छन् ।

भदौ १० गते आएको बाढीपछि अजयसहित केही व्यक्तिहरू सम्पर्कविहीन रहेको भन्दै परिवारले निरन्तर खोजी तथा उद्धारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ ।

पूजाले मैलुङ बजार क्याम्प आसपासका सम्भावित क्षेत्रसहित रसुवाका विभिन्न स्थानमा तत्काल खोजी अभियान सञ्चालन गर्न माग गरेकी छन् ।

उनका अनुसार ठाडे गाउँ, राम्चे, ग्रान्ड, बटार, कालिकास्थान, धुन्चे, बोर्ले, यार्सा, मैलुङ डाँडा तथा मैलुङ बजार क्याम्प वरपरका क्षेत्रमा खोजी गर्न आवश्यक छ ।

साथै जंगल, पहाडी तथा अन्य सम्भावित क्षेत्रमा समेत ड्रोन र उद्धार टोली परिचालन गरी खोजी गर्न उनले आग्रह गरेकी छन् ।

‘हामीलाई थाहा छैन, हाम्रा प्रियजनहरू कहाँ र कुन अवस्थामा छन् । सायद कतै उद्धारको आशामा बसेका होलान्, सायद कसैको सहयोगको प्रतीक्षा गरिरहेका होलान्,’ पूजाले भनेकी छन्, ‘त्यसैले अब प्रश्न एउटै छ—उद्धार किन भइरहेको छैन?’

उनका अनुसार अजयसहित सम्पर्कविहीन भएकाहरूको खोजीका लागि हिजो उद्धार टोली पठाउने आश्वासन दिइएको थियो । बिहान ५ बजे ड्रोनसहितको रेस्क्यु टोली घटनास्थलतर्फ जाने भनिए पनि दिउँसो १२ बजेसम्म टोली घटनास्थल पुग्न नसकेको उनको गुनासो छ ।

उद्धारको माग गर्दै आफूहरू दिनभर एक कार्यालयदेखि अर्को कार्यालयसम्म धाउने, फोन गर्ने र अनुरोध गर्ने अवस्थामा पुगेको पूजाले बताएकी छन् । तर, समय बित्दै जाँदा आफूहरूको पीडा र चिन्ता थप बढिरहेको उनको भनाइ छ ।

‘हामी तपाईंहरूको कार्यालय धाउँदा धाउँदा, अनुरोध गर्दागर्दा अवस्था नाजुक भइसकेको छ । अब के गर्ने?’ उनले प्रश्न गरेकी छन् ।

पूजाले सम्बन्धित कम्पनी, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा सरकारका सबै जिम्मेवार पक्षलाई तत्काल स्थलमार्ग खुलाएर उद्धार टोली, ड्रोन तथा आवश्यक जनशक्ति परिचालन गर्न आग्रह गरेकी छन् ।

उनले आफ्नो श्रीमान् अजयको मात्रै नभई मैलुङ क्षेत्रमा सम्पर्कविहीन तथा अलपत्र परेका सबै नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन् ।

‘अब आश्वासन नभई तत्काल उद्धार चाहिन्छ,’ पूजाको माग छ, ‘हाम्रा मानिसहरूलाई खोजिदिनुस्, उद्धार गरिदिनुस् ।’

भोटेकोशी बाढीपछि लामो समयसम्म आफन्तको अवस्था अज्ञात रहँदा परिवारहरू निरन्तर चिन्तामा छन् ।

यस्तो अवस्थामा सम्भावित सबै क्षेत्रमा समन्वयात्मक रूपमा खोज तथा उद्धार अभियान तीव्र बनाउन पीडित परिवारले सरकार र सम्बन्धित निकायसँग माग गरेका छन् ।