विपद्को तथ्यांकमा सरकारी निकायको लापरबाही, एउटै दिन दुईथरी तथ्यांक
जनकपुरधाम, २० भदौ । रसुवा बाढी तथा पहिरोबाट भएको मानवीय क्षतिबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एउटै दिन सार्वजनिक गरेका दुई फरक अपडेटमा असंगत तथ्यांक देखिएको छ ।
प्राधिकरणले शनिबार मध्यान्ह १२ बजे सार्वजनिक गरेको विवरणमा मानवीय क्षति १ हजार ३४४ रहेको उल्लेख गरेको थियो । तर, सोही दिन साँझ ६ बजे सार्वजनिक गरिएको अर्को अपडेटमा मानवीय क्षति १ हजार ३३१ मा झारिएको छ ।
केही जिल्लामा फेला परेका शवको संख्यामा समेत दिउँसो र साँझको विवरणबीच फरक देखिएको छ ।
मध्यान्हको विवरणअनुसार रसुवामा १६०, नुवाकोटमा १९२, धादिङमा ६७, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २३० र चितवनमा ३६० शव फेला परेको उल्लेख थियो । काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको विवरणसमेत समावेश गरिएको थियो ।
तर, साँझको अद्यावधिक विवरणमा रसुवामा फेला परेका शवको संख्या १५६, नुवाकोटमा १९५, गोरखामा ७४ र नवलपरासी पश्चिममा २१९ कायम गरिएको छ । अन्य केही जिल्लाको तथ्यांक भने यथावत् राखिएको छ ।
यसरी एउटै दिनको केही घण्टाको अन्तरमा मानवीय क्षतिको कुल संख्या नै १३ ले घट्नुले सरकारी निकायबाट सार्वजनिक हुने विपद्सम्बन्धी तथ्यांकको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।
प्राधिकरणले भने सम्पर्कविहीन व्यक्तिको विवरणमा पहिचान नभएका शव तथा उद्धार गरिएका व्यक्ति पनि समावेश हुनसक्ने भन्दै तथ्यांक रुजु गर्ने काम भइरहेको जनाएको छ ।
तर, मध्यान्ह र साँझ सार्वजनिक गरिएका विवरणमा देखिएको फरकलाई स्पष्ट रूपमा सच्याइएको वा कुन तथ्यांक सही हो भन्ने विषयमा छुट्टै स्पष्टीकरण दिइएको देखिँदैन ।
त्यसैगरी, घाइतेको विवरणमा पनि फरक देखिएको छ । दिउँसोसम्म उपचार गरिएका घाइतेको संख्या ५ हजार ६६३ रहेकोमा साँझको अपडेटमा यो संख्या बढेर ५ हजार ९२९ पुगेको छ । विभिन्न अस्पताल, नेपाली सेना र सशस्त्र प्रहरीबाट उपचार गरिएका व्यक्तिको संख्यामा समेत वृद्धि भएको उल्लेख छ ।
यसैबीच, प्राधिकरणले राहत तथा उद्धार कार्यलाई निरन्तरता दिइएको जनाएको छ । साँझसम्म काठमाडौंँबाट ८३ ट्रक र ३८ बोलेरोमार्फत प्रभावित क्षेत्रमा खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ । सशस्त्र प्रहरीले रसुवा र नुवाकोटभित्र १७३ वटा हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरेको विवरणमा उल्लेख छ ।
सरकारले रसुवाका लागि १ करोड, नुवाकोटका लागि १ करोड र धादिङका लागि ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । प्रभावित १५ पालिकाका लागि थप १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
विपद्को समयमा उद्धार, राहत र पुनस्र्थापनाको योजना बनाउन यस्ता तथ्यांक महत्वपूर्ण हुने भएकाले सरकारी निकायबाट सार्वजनिक हुने विवरणमा एकरूपता, पारदर्शिता र तथ्यांक प्रमाणीकरण अत्यन्त आवश्यक हुन्छ ।
एउटै दिन केही घण्टाको अन्तरमा फरक फरक तथ्यांक सार्वजनिक हुँदा प्रभावित परिवार, स्थानीय प्रशासन तथा आम नागरिकमा अन्योल सिर्जना हुने देखिन्छ । त्यसैले प्राधिकरणले सार्वजनिक गरिसकेका तथ्यांकमा देखिएको असंगतिको कारण स्पष्ट पार्दै अन्तिम तथा प्रमाणित विवरण सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ ।




