विराटनगर, २० भदौ । भगवान् श्रीकृष्णको ज्ञानयोग, कर्मयोग र भक्तियोगको सन्देश स्मरण गर्दै विराटनगरमा यस वर्षको ऐतिहासिक राधाकृष्ण रथयात्रा भव्य रूपमा निकालिएको छ ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने परम्पराअनुसार विराटनगर–१ पोखरियास्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु गरिएको हो ।

वि.सं. १९८८ देखि निरन्तर सञ्चालन हुँदै आएको विराटनगरको राधाकृष्ण रथयात्रा पूर्वी नेपालकै प्रमुख धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा स्थापित छ ।
करिब ९५ वर्षदेखि मनाइँदै आएको यस रथयात्रामा नेपालका विभिन्न स्थानसँगै भारतबाट समेत आएका हजारौँ श्रद्धालु सहभागी भएका छन् ।

गत वर्षदेखि २१ फिट अग्लो र करिब ७ टन तौलको नयाँ रथमा राधा र कृष्णको युगल मूर्ति राखेर रथयात्रा निकालिँदै आएको छ ।

विराटनगर महानगरपालिकाको करिब ४६ लाख रुपैयाँ सहयोगमा निर्माण गरिएको नयाँ रथमा रहेका मूर्तिको दर्शन गर्न भक्तजनलाई सहज भएको आयोजकले जनाएको छ ।

रथयात्राका क्रममा रथ तान्ने डोरी छुन भक्तजनबीच तँछाडमछाड हुने गरेको छ । धार्मिक विश्वासअनुसार रथको डोरी छोए पापबाट मुक्ति मिल्ने जनविश्वास रहेकाले श्रद्धालुहरू डोरी छुन उत्साहित देखिन्थे ।

रथयात्राको शुभारम्भ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै धर्म, समुदाय र सम्प्रदायबीच आपसी सद्भाव र एकता कायम हुनुपर्नेमा जोड दिए । उनले मुलुकले भोगिरहेको विपद् र संकटबाट भगवान् श्रीकृष्णले छिट्टै मुक्ति दिलाउने विश्वाससमेत व्यक्त गरे ।

करिब ८ किलोमिटर दूरी तय गरेर पुनः राधाकृष्ण मन्दिरमै पुग्ने रथयात्राका क्रममा विभिन्न स्थानमा भक्तजनलाई पूजापाठ तथा दर्शनको व्यवस्था गरिएको थियो ।

श्रद्धालुको सहजताका लागि रथलाई तीनपैनी, महानगरपालिका चोक, गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, महेन्द्र चोकलगायत ४४ स्थानमा रोकेर पूजाअर्चना गर्ने व्यवस्था मिलाइएको थियो ।

रथयात्रामा सहभागी भक्तजनका लागि विभिन्न व्यक्ति, संस्था तथा प्रतिष्ठानले ठाउँठाउँमा चिसो पानी, सर्वत, खिर, लस्सी र आइसक्रिमलगायतका सामग्री वितरण गरेका थिए ।

भव्य भीडलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई ठूलो संख्यामा परिचालन गरिएको थियो । सुरक्षाकर्मीले पोसाक तथा सादा पोसाकमा निगरानी गर्नुका साथै ड्रोनमार्फत समेत रथयात्राको सुरक्षा अवस्थाको अनुगमन गरेका थिए ।

यसपटक जिल्ला प्रशासन कार्यालय मोरङले रथयात्राका क्रममा डिजे बजाउन रोक लगाए पनि केही झाँकीले प्रशासनको निर्देशन उल्लंघन गर्दै डिजे बजाएका थिए । समग्रमा भने धार्मिक आस्था, सांस्कृतिक विविधता र भक्तिभावले विराटनगरको राधाकृष्ण रथयात्रा उत्सवमय बनेको थियो ।