भोटेकोशी बाढी: ११औँ दिनमा दुई चमत्कार
जनकपुरधाम, २० भदौ । रसुवा बाढी आएको ११औँ दिन शनिबार नुवाकोटमा दुई जनाको चमत्कारिक रूपमा जीवितै उद्धार गरिएको छ ।
बाढीपहिरोका कारण भग्नावशेषमा पुरिएकी एक महिला र जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई सुरक्षाकर्मीले जीवितै उद्धार गरेका हुन् ।
विदुर नगरपालिका–१० बेत्रावतीमा पहिरोले पुरिएको घरको भग्नावशेषबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई सशस्त्र प्रहरीको टोलीले जीवितै बाहिर निकालेको हो ।
घरभित्रबाट मानिसले आवाज निकालेको सूचना पाएपछि सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । त्यसपछि भग्नावशेष हटाउँदै खोजी गर्दा श्रेष्ठलाई जीवित अवस्थामा फेला पारिएको थियो ।
उद्धारपछि श्रेष्ठले सुरक्षाकर्मीले दिएको पानीसमेत खाएकी थिइन् । उनी बोल्न सक्ने अवस्थामा रहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लग्ने तयारी गरिएको छ ।
त्यसअघि आजै माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ सुरुङबाट एक चिनियाँ नागरिकलाई पनि जीवितै उद्धार गरिएको छ ।
नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञको टोलीले लामो समयदेखि सुरुङभित्र फसेका ती नागरिकलाई जीवितै बाहिर निकालेको हो ।
बाढीका कारण प्रभावित आयोजनाको सुरुङमा फसेका उनको खोजी तथा उद्धारका लागि नेपाली सेना र विदेशी विपद् विज्ञसहितको टोली परिचालन गरिएको थियो । उद्धारपछि उनलाई नुवाकोटको त्रिशूलीस्थित ब्यारेकतर्फ लगिएको छ ।
यसअघि बाढी आएको १०औँ दिन शुक्रबार पनि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो ।
लगातार दुई दिन सुरुङ तथा भग्नावशेषबाट मानिसहरू जीवितै भेटिएपछि बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियानमा थप आशा जागेको छ ।
लामो समयसम्म सम्पर्कविहीन रहेका मानिसहरू जीवितै भेटिन थालेपछि सुरक्षाकर्मीले भग्नावशेष तथा जोखिमयुक्त संरचनामा खोजी कार्यलाई थप तीव्र बनाएका छन् ।


