बाढीले पुरिएको घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार
जनकपुरधाम, २० भदौ । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ ।
सशस्त्र प्रहरीका अनुसार बाढीले पुरिएको बिदुर नगरपालिका-१० स्थित आनन्द श्रेष्ठको घरबाट उनकी ६४ वर्षीया श्रीमति चन्द्रिका श्रेष्ठलाई शनिबार ११औँ दिनमा जीवितै उद्धार गरिएको हो ।
पछिल्लो समय रसुवा र नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेका छन् ।
यसअघि नेपाली सेनाको उद्धार टोलीले अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरेको थियो ।
त्यस्तै, शुक्रबार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट पनि दुई जनालाई उद्धार गरिएको थियो ।
बाढी र पहिरोका कारण जोखिमपूर्ण बनेका क्षेत्रमा अझै पनि बेपत्ता तथा फसेका नागरिकको खोजी भइरहेको सुरक्षाकर्मीले जनाएको छ ।


