जनकपुरधाम, १९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भएको मानवीय क्षतिको संख्या १ हजार २९४ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १ हजार २९४ जनाको शव फेला परेको हो ।

प्राधिकरणले शुक्रबार साँझ ६ः३० बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् ।

चितवनमा मात्रै ३५९ शव फेला परेका छन् । यस्तै नवलपरासी पूर्वमा २२१, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७३, धादिङमा ६७ र तनहुँमा ३८ शव फेला परेको प्राधिकरणले जनाएको छ । फेला परेका शवमा विभिन्न मानव अंगसमेत समावेश छन् ।

हालसम्म ९६ वटा शवको सनाखत भई आफन्तलाई बुझाइएको छ ।बाढी तथा पहिरोमा परी घाइते भएका ५ हजार ६६३ जनाको उपचार गरिएको छ ।

तीमध्ये विभिन्न अस्पतालमा ३१४ जना, नेपाली सेनाबाट ३ हजार २६६ जना र सशस्त्र प्रहरीबाट २ हजार ८३ जनालाई स्वास्थ्य उपचार प्रदान गरिएको छ ।

अझै ५ हजारभन्दा बढी सम्पर्कविहीन
बाढीपछि अझै करिब ५ हजार ५३ जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ ।

रसुवा जिल्ला प्रशासन कार्यालयबाट करिब २ हजार १३० जना र नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट करिब २ हजार ३४० जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ ।

त्यसैगरी सम्पर्कविहीनमध्ये ५८३ जना विदेशी नागरिक रहेको बताइएको छ । प्राधिकरणले सम्पर्कविहीनको विवरणमा पहिचान हुन नसकेका शवसमेत समावेश भएको हुनसक्ने जनाएको छ ।

यसैबीच बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी छ । शुक्रबार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवित उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

हालसम्म १३ हजार ९५ जना उद्धार गरिएका छन् । नेपाली सेनाले ४ हजार १५७, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा ४ हजार ८७० जनाको उद्धार गरेको विवरणमा उल्लेख छ ।

नेपाली सेनाले मात्रै हालसम्म ८८१ पटक हवाई उडान गरेको छ । शुक्रबार मात्रै सेनाले ९६ वटा हवाई उडान गरेको छ। निजी क्षेत्रबाट काठमाडौंबाट १२९ पटक उडान भएको छ । उद्धार गरिएका विदेशी नागरिकको संख्या ३०३ पुगेको छ ।

२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
खोज, उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाल प्रहरीका ७ हजार ९३१, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना परिचालन भएका छन् ।

रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४ हजार ६२७ जना रहेका छन् ।

७ हजार ५७० निजी घरमा क्षति
बाढीबाट ठूलो भौतिक क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । प्राधिकरणका अनुसार ७ हजार ५७० निजी घरमा क्षति पुगेको छ ।

त्यस्तै, ४८ वटा सरकारी संरचनामध्ये ३५ वटा पूर्ण र १३ वटा आंशिक क्षति भएका छन् । १८ विद्यालयमध्ये ११ वटा पूर्ण र ७ वटा आंशिक क्षति भएका छन् । सात स्वास्थ्य संस्थामध्ये चार वटा पूर्ण र तीन वटा आंशिक क्षति भएका छन् ।

बाढीले ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुर्‍याएको छ । ३७ वटा मोटरेबल पुलमध्ये ३३ वटा पूर्ण क्षति भएका छन् भने ६८ वटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ ।

राहत सामग्री पठाउने क्रम जारी
बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने काम पनि जारी छ । हालसम्म काठमाडौंँबाट ७७ ट्रक र ३८ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ ।

हेलिकप्टरमार्फत नौ पटक उडान गरी राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ । सशस्त्र प्रहरी बलले मात्रै नुवाकोट र रसुवामा १७३ हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरेको जनाएको छ ।

सरकारले प्रत्यक्ष प्रभावित जिल्लाका लागि नगद राहतसमेत उपलब्ध गराएको छ । रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

क्षति भएका घरधुरीका आधारमा प्रत्यक्ष प्रभावित जनसंख्या ३२ हजार ९६३ रहेको प्रारम्भिक विवरण छ ।

यस्तै प्रभावित १५ स्थानीय तहका लागि सरकारले १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ ।

प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, विदेशी पर्यटकसँगै गएका नेपाली, उपचाररत तथा उद्धार गरिएका व्यक्तिको विवरण आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको जनाएको छ ।