सुनसरी, १९ भदौ । थाइल्यान्डबाट हुलाकमार्फत नेपाल भित्र्याइएको गाँजा बरामद प्रकरणमा नेपाल प्रहरीले दुई नेपाली महिला र दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार थाइल्यान्डबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै इटहरी पठाइएको शंकास्पद पार्सल जाँच गर्दा ठूलो परिमाणमा थाई गाँजा फेला परेको हो ।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले भदौ ९ गते उक्त पार्सलमाथि शंका लागेपछि जाँच गरेको थियो । पार्सलबाट ९१० ग्राम थाई गाँजा बरामद भएपछि प्रहरीले त्यसको रिसिभरको खोजी थालेको जनाएको छ ।

अनुसन्धानका क्रममा भदौ १६ गते पार्सल लिन पुगेका दुई महिलालाई पक्राउ गरिएको थियो । पक्राउ परेका व्यक्तिहरूको धरान उपमहानगरपालिका–१५ स्थित डेरा कोठामा समेत खानतलासी गर्दा थप १ किलोग्राम थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

यसरी बरामद भएको गाँजाको कुल परिमाण १ किलो ९१० ग्राम पुगेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–२० निवासी १९ वर्षीया जेसिका तामाङ र धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ निवासी २५ वर्षीया तारा मगर रहेका छन् ।

यसै प्रकरणमा गाँजा रिसिभ गर्न आएको आरोपमा भारतको केरलाका दुई युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केरलाको कन्नोर जिल्लाका २४ वर्षीय सारोन सुनिल तिया र आलपुर जिल्लाका २२ वर्षीय अमल आर रहेका छन् ।

प्रहरीले उनीहरूलाई शुक्रबार धरान उपमहानगरपालिका–८ बाट पक्राउ गरेको जनाएको छ ।

उनीहरूको साथबाट तथा पार्सलबाट बरामद गरी कुल १ किलो ९१० ग्राम थाई गाँजा र चार थान मोबाइल बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय धरान र लागुऔषध नियन्त्रण ब्यूरोले थप अनुसन्धान अघि बढाएको छ ।