सुनसरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ
सुनसरी, १९ भदौ । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित एक होटलबाट ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बिहान करिब ११ बजे चाम्लिङ होटल एण्ड लजमा लागूऔषध ब्राउन सुगरको बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले होटलमा छापा मारेको थियो ।
छापा मार्ने क्रममा प्रहरीले १६ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ का ५२ वर्षीय मोजामिल अन्सारी र होटल सञ्चालक रामधुनी नगरपालिका–५ की ४९ वर्षीया मनिता राई रहेका छन् ।
प्रहरीका अनुसार खानतलासीका क्रममा होटल सञ्चालक राईले लुकाएर राखेको अवस्थामा उक्त लागूऔषध फेला परेको हो ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा लागूऔषधको स्रोत, कारोबारमा संलग्न अन्य व्यक्ति तथा बिक्री वितरणको सञ्जालबारे समेत जानकारी खुल्ने प्रहरी जनाएको छ ।


