जनकपुरधाम, १९ भदौ । रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि सञ्चालन गरिएको खोज, उद्धार तथा राहत अभियानका क्रममा मानवीय क्षति १ हजार २ सय ८७ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार मध्यान्ह १२ः३० बजेसम्म विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव फेला परेका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा ३५९, नवलपरासी पूर्वमा २१९, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ वटा फेला परेका छन् ।

फेला परेका शवमध्ये हालसम्म ९६ जनाको सनाखत गरी परिवारलाई बुझाइएको छ ।

फेला परेका शव तथा मानव अंगसमेतको विवरणका आधारमा मानवीय क्षतिको संख्या निर्धारण गरिएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण सम्पर्कविहीन हुनेको संख्या करिब ५ हजार ८३ जना रहेको छ ।

रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार करिब २ हजार १ सय ३० जना र नुवाकोटबाट करिब २ हजार ३ सय ४० जना सम्पर्कविहीन छन् । त्यस्तै, सम्पर्कविहीन विदेशी नागरिकको संख्या ५८३ रहेको छ ।

पहिचान हुन नसकेका शवसमेत सम्पर्कविहीनको संख्यामा समावेश हुनसक्ने प्राधिकरणले जनाएको छ ।

यसैबीच, खोज तथा उद्धार अभियानका क्रममा त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको जीवित उद्धार गरिएको छ ।

हालसम्म विभिन्न सुरक्षा निकाय तथा निजी क्षेत्रको संयुक्त प्रयासमा १३ हजार ९३ जना उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये नेपाली सेनाले ४ हजार १५५ जनाको उद्धार गरेको छ ।

सेनाले हवाई माध्यमबाट २७३ विदेशी र ३ हजार ६८२ नेपाली तथा स्थलगत माध्यमबाट २०० जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ ।

नेपाल प्रहरीले ४ हजार ६८ जना र सशस्त्र प्रहरी बलले ४ हजार ८७० जनाको संयुक्त उद्धार गरेको छ ।

बाढीबाट घाइते भएका ५ हजार ३९७ जनाको उपचार गरिएको छ । विभिन्न अस्पतालमा ३०४ जना, नेपाली सेनाबाट ३ हजार २१९ जना र सशस्त्र प्रहरीबाट १ हजार ८७४ जनाको स्वास्थ्य उपचार गरिएको विवरणमा उल्लेख छ ।

उद्धार तथा राहत कार्यमा २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन भएका छन् ।

नेपाल प्रहरीका ७ हजार ९३१, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

४ हजार ५२१ जना होल्डिङ सेन्टरमा
उद्धार गरिएका तथा प्रभावित व्यक्तिमध्ये हाल ४ हजार ५२१ जना होल्डिङ सेन्टरमा रहेका छन् ।

नुवाकोटमा ३ हजार १८१, रसुवामा १ हजार १४१ र धादिङमा १९९ जना रहेका छन् ।

राहत सामग्री ढुवानीका लागि काठमाडौंबाट हालसम्म ६९ ट्रक र ३८ बोलेरो प्रयोग गरिएको छ ।

हेलिकप्टरबाट समेत नौपटक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।

सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १६३ हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरेको छ ।

अधिकांश सञ्चार टावर सञ्चालनमा
बाढीबाट प्रभावित सञ्चार संरचनामध्ये अधिकांश पुनः सञ्चालनमा आएका छन् ।

नेपाल टेलिकमका १२० टावरमध्ये ११६ वटा र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

उद्धार अभियानका क्रममा नेपाली सेनाले हालसम्म ८३० हवाई उडान गरेको छ, जसमा आज मात्रै ४५ उडान भएका छन् ।

निजी क्षेत्रबाट समेत काठमाडौंबाट १२९ उडान भएका छन् । हालसम्म ३०३ विदेशी नागरिकको उद्धार गरिएको छ ।

७ हजार ५७० निजी घरमा क्षति
बाढी तथा पहिरोबाट प्रारम्भिक विवरणअनुसार ७ हजार ५७० निजी घर प्रभावित भएका छन् ।

सरकारी संरचनातर्फ ४८ वटामा क्षति पुगेको छ, जसमध्ये ३५ पूर्ण र १३ आंशिक क्षति भएका छन् ।

त्यस्तै, १८ विद्यालयमा क्षति पुगेको छ । तीमध्ये ११ पूर्ण र ७ आंशिक क्षति भएका छन् । सात स्वास्थ्य संस्थामा क्षति पुगेकोमा चार पूर्ण र तीन आंशिक क्षति भएका छन् ।

सडकतर्फ ५५ किलोमिटर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक विवरण छ ।

मोटरेबल पुल ३७ मध्ये ३३ वटा पूर्ण क्षति भएका छन् भने ६८ वटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ ।

बाढीको आर्थिक क्षति ३ खर्ब ८७ अर्बभन्दा बढी
प्राधिकरणले बाढीबाट भएको कुल आर्थिक क्षति तथा नोक्सानी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ पुगेको प्रारम्भिक अनुमान गरेको छ ।

प्रारम्भिक पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

सरकारले रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ ।

बाढीबाट प्रभावित १५ स्थानीय तहलाई थप १३ करोड ५० लाख रुपैयाँ राहत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।

बाढीपछि सम्पर्कविहीन विदेशी नागरिक, विदेशी पर्यटकसँगै रहेका नेपाली, उपचाररत तथा उद्धार गरिएका व्यक्तिहरूको विवरण प्राधिकरणको वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ ।