बाढीपीडितका लागि एनवाईईएफद्वारा ५० लाख सहयोग
जनकपुरधाम, १८ भदौ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
एनवाईईएफले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम सहयोग गरेको हो ।
सहयोग रकम एनवाईईएफका अध्यक्ष आभूषण ज्योति कंसाकारसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरेको जनाइएको छ ।
बाढीपछि एनवाईईएफको देशभरका विभिन्न शाखासँग आबद्ध व्यक्ति, उद्यमी तथा संस्थाहरूले राहत तथा उद्धार अभियानमा सक्रिय सहभागिता जनाउँदै आएका छन् ।
एनवाईईएफका अनुसार संस्थाको व्यापक सञ्जालमार्फत हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ करोड रुपैयाँभन्दा बढी सहयोग जुटिसकेको छ ।
एनवाईईएफले आर्थिक सहयोगलाई रकम हस्तान्तरणमा मात्र सीमित नराखी विपद्बाट प्रभावित समुदायप्रतिको ऐक्यबद्धता, विश्वास र सामाजिक जिम्मेवारीको अभिव्यक्तिका रूपमा लिएको जनाएको छ ।
संस्थाले प्रभावित समुदायको तत्कालीन राहतसँगै पुनःस्थापना, पुनर्निर्माण तथा दीर्घकालीन पुनरुत्थानका कार्यमा समेत निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।


