चीनले उद्धार गरेका ११४ नेपाली तातोपानी नाकाबाट नेपाल प्रवेश
जनकपुरधाम, १८ भदौ । रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ जना नेपाली नागरिक बिहीबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् ।
बाढीपछि चीनतर्फ पुगेका तथा त्यहीँ रोकिएका नेपालीमध्ये १४७ जनालाई स्वदेश फर्काउने पहल भइरहेकामा पहिलो चरणमा ११४ जनालाई चिनियाँ पक्षले सुरक्षित रूपमा सिन्धुपाल्चोकको तातोपानी नाकास्थित लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार नेपाल फर्किएका ११४ जनामध्ये ११३ जना रसुवाका नागरिक छन् भने एक जना काठमाडौंका रहेका छन् । चिनियाँ पक्षले उनीहरूको राहदानी नम्बरलगायत आवश्यक विवरणसमेत नेपाली अधिकारीलाई हस्तान्तरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार चिनियाँ प्रतिनिधिले बिहीबार विभिन्न जिल्लाका ११४ जना नेपाली नागरिकलाई लिपिङ क्षेत्रमा ल्याएर नेपाली पक्षको जिम्मा लगाएका हुन् ।
नेपाल फर्किएका नागरिकको आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई काठमाडौं पठाउने तयारी गरिएको छ । बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ भने केही नेपाली तथा विदेशी नागरिकसमेत चीनतर्फ फसेका थिए ।
बाढीपछि चीनतर्फ रोकिएका नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन दुवै देशका सम्बन्धित निकायबीच समन्वय भइरहेको छ । बाँकी नेपालीलाई समेत क्रमशः नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।


