जनकपुरधाम, १८ भदौ । मनसुनजन्य विपद् प्रतिकार्यका लागि सरकारले शव व्यवस्थापन, चीनमा रोकिएका नेपालीको उद्धार तथा बाढीका कारण अवरुद्ध सडकको विकल्पमा वैकल्पिक मार्ग सञ्चालन गर्ने निर्णय गरेको छ ।

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बसेको दशौँ बैठकले बाढी तथा पहिरोमा मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि आवश्यक शववाहनको व्यवस्था गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ।

मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी शववाहनको व्यवस्था मिलाउने निर्णय भएको हो ।

बैठकले बाढीका कारण चीनतर्फ रोकिएका ११४ जना नेपालीलाई पनि स्वदेश फर्किएपछि आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको छ । चीन सरकारले उनीहरूलाई तातोपानी नाका, सिन्धुपाल्चोकसम्म ल्याएर छाडेपछि पूर्वाधार विकास मन्त्रालयले काठमाडौंमा उनीहरूका लागि आवश्यक व्यवस्था मिलाउनेछ ।

त्यसपछि उनीहरूलाई आ–आफ्नो घर ठेगानासम्म पुर्याउने व्यवस्था भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने निर्णय भएको छ ।

यसैगरी, रसुवाको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले गोरखा जिल्लाअन्तर्गत त्रिशूली नदी पुल बेनीघाटदेखि त्रिशूली नदी पुल फिस्लिङसम्मको सडक स्तरोन्नति गरी वैकल्पिक मार्गका रूपमा यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन पूर्वाधार विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

बाढी र पहिरोका कारण मुख्य सडक तथा यातायात सम्पर्क प्रभावित भइरहेका बेला वैकल्पिक मार्ग निर्माण तथा सडक स्तरोन्नतिबाट आवागमन सहज हुने विश्वास गरिएको छ ।

सरकारले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत, शव व्यवस्थापन तथा यातायात सञ्चालनलाई प्राथमिकतामा राखेर काम अघि बढाएको जनाएको छ ।