भदौ २२ गते राष्ट्रिय शोक दिवस, राष्ट्रिय झण्डा आधा झुकाइने
जनकपुरधाम, १८ भदौ । सरकारले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा मृत्यु भएकाहरूको सम्मानस्वरूप घटनाको १३औँ दिनको पुण्यतिथिमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
सरकारले आगामी भदौ २२ गते सोमबार राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको हो ।
शोक दिवसका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको प्रवक्ता पोखरेलले बताए ।
भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सरकारले मृतकप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्न राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको हो ।
सरकारले विपद्बाट प्रभावित तथा पीडित परिवारको उद्धार, राहत र पुनर्स्थापनाका कामलाई निरन्तरता दिइरहेको जनाएको छ ।


