जनकपुरधाम, १८ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका नेपाल प्रहरीका कर्मचारीका परिवारलाई प्रहरी प्रधान कार्यालयले राहतस्वरूप जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नेपाल प्रहरीको नीति निर्माण समिति बैठकले दिवंगत प्रहरी कर्मचारीका परिवारलाई नियमावलीबमोजिम प्राप्त हुने सेवा सुविधाका अतिरिक्त उक्त राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

निर्णयअनुसार बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋणसमेत मिनाहा गरिनेछ ।

त्यस्तै, दिवंगत प्रहरी कर्मचारीका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गरी रोजगारीको व्यवस्था गर्न आवश्यक पहल गर्ने निर्णयसमेत गरिएको छ ।

प्रहरीले दिवंगत कर्मचारीका सन्ततिलाई नेपाल प्रहरी स्कुलमा अध्ययनका लागि शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने जनाएको छ ।

बाढी तथा पहिरोजस्ता विपद्का घटनामा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई आर्थिक तथा सामाजिक सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले यस्तो निर्णय गरिएको नेपाल प्रहरीले जनाएको छ ।