जनकपुरधाम, १८ भदौ । भोटेकोशी बाढीपछि नेपालमा ३४ देशका ५९० विदेशी नागरिक अझै बेपत्ता सूचीमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्धार भइसकेको छ ।

बिहीबार आयोजित नियमित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै पूर्वी तथा पश्चिम नवलपरासीसम्म विदेशी नागरिकको खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिए ।

उनका अनुसार नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी जनशक्ति खोज तथा उद्धारमा परिचालन भएका छन् । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन भारतबाट आएको टनेल उद्धार टोलीसमेत नेपाली सेनासँग सहकार्य गरी आवश्यक उपकरणसहित परिचालन गरिएको छ ।

चिलिमे क्षेत्रमा थप एक्स्काभेटर पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, लाङटाङ क्षेत्रमा नेपाली सेना र प्राविधिक टोलीले मेसिनको प्रयोग गरी सुरुङको अपस्ट्रिम भागमा सानो प्वाल खोल्न सफल भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा पनि चिनियाँ टनेल उद्धार टोली, नेपाली सेना र अन्य प्राविधिकसहित ९३ सदस्यीय संयुक्त टोली थप जनशक्ति र उपकरणका साथ उद्धार कार्यमा खटिएको मन्त्रालयले जनाएको छ ।

बाढीमा फेला परेका शवको पहिचानका लागि भारतबाट १९ सदस्यीय र चीनबाट पाँच सदस्यीय विशेष फोरेन्सिक टोली नेपाल आएर कार्यक्षेत्रमा परिचालित छन् ।

विपद्पछि नेपाललाई भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, अस्ट्रेलियालगायत मित्रराष्ट्र तथा युरोपेली युनियन, विश्व बैंक र एसियाली विकास बैंकलगायत दातृ निकायले सहयोग र ऐक्यबद्धता जनाएका छन् ।

यसैबीच, चीनको केरुङबाट १४० जना नेपाली तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा रहेको मन्त्रालयले जनाएको छ । चिनियाँ सीमा क्षेत्रमा अझै करिब १०० जना नेपाली सम्पर्कविहीन रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

भोटेकोशी बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली तथा विदेशी नागरिकको खोजी, उद्धार र शव पहिचानको काम एकसाथ अघि बढाइएको मन्त्रालयले जनाएको छ ।