रसुवा बाढी अपडेटः मृतकको संख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
जनकपुरधाम, १८ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि मृत्यु हुनेको संख्या १ हजार २५२ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार मध्याह्न १२ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार २५२ शव फेला परेका छन् ।
फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३५५, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, गोरखामा ६९, धादिङमा ६०, तनहुँमा ३८ र रसुवामा १२७ शव फेला परेको प्राधिकरणले जनाएको छ ।
फेला परेका शवमा विभिन्न मानव अंगसमेत समावेश छन् । हालसम्म ९५ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ ।
बाढी तथा पहिरोका कारण ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार करिब ४ हजार २१६ जना सम्पर्कविहीन रहेका छन् ।
सम्पर्कविहीन हुनेमा सुरक्षा निकायका कर्मचारीदेखि विदेशी नागरिक, पर्यटकसँगै गएका नेपाली, जलविद्युत् आयोजनाका कामदार तथा स्थानीय बासिन्दासमेत छन् ।
त्यस्तै, विपद्का कारण घाइते भएका ५ हजार १३५ जनाको उपचार गरिएको छ । विभिन्न अस्पतालमा ३०१ जना, नेपाली सेनाबाट ३ हजार २०६ जना र सशस्त्र प्रहरीबाट १ हजार ६२८ जनाको स्वास्थ्य उपचार गरिएको विवरणमा उल्लेख छ ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले मात्रै हवाइ माध्यमबाट ४ हजार ३६४ जनाको उद्धार गरेको छ ।
उद्धार गरिएकामध्ये ४ हजार ९१ जना नेपाली र २७३ जना विदेशी नागरिक छन् । नेपाली सेनाले हालसम्म ७१५ पटक हवाइ उडान गरेको छ । त्यसमध्ये बुधबार मात्रै २५ उडान गरिएको प्राधिकरणले जनाएको छ ।
काठमाडौंबाट निजी क्षेत्रका हेलिकप्टरमार्फत समेत १२९ पटक उडान भएको छ । उद्धार तथा खोजी कार्यका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना परिचालन भएका छन् । उद्धार गरिएका तथा प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा ल्याइएका ३ हजार ९४८ जना होल्डिङ सेन्टरमा रहेका छन् ।
नुवाकोटमा २ हजार ९८१ जना र अन्य स्थानमा समेत प्रभावित तथा उद्धार गरिएका व्यक्तिहरूलाई राखिएको प्राधिकरणले जनाएको छ ।
होल्डिङ सेन्टरमा रहेका मध्ये ५८३ जना विदेशी नागरिक, विदेशी पर्यटकसँगै गएका १६४ नेपाली तथा जलविद्युत् आयोजनाबाट उद्धार गरिएका करिब ९०० जना रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने काम पनि जारी छ । काठमाडौंबाट हालसम्म ४५ ट्रक र ३७ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ ।
हेलिकप्टरबाट ९ पटक राहत सामग्री ढुवानी गरिएको तथा थप १४ मिनीट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको प्राधिकरणले जनाएको छ ।
सशस्त्र प्रहरीमार्फत नुवाकोट र रसुवा क्षेत्रमा १३० वटा हवाइ उडानबाट राहत सामग्री पुर्याइएको छ । धादिङमा २६०, रसुवामा ३२० र काठमाडौंमा ३८७ जनालाई राहत तथा उद्धार व्यवस्थापनमा समन्वय गरिएको विवरणमा उल्लेख छ ।
बाढीबाट नेपाल टेलिकमका ११० वटा टावरमा क्षति पुगे पनि हाल सबै टावर सञ्चालनमा आएका छन् । एनसेलका ७८ टावरमा क्षति पुगेकामा ७५ वटा पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।
प्रभावित क्षेत्रमा इन्धनको मौज्दातसमेत रहेको छ । हाल ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाइ इन्धन मौज्दात रहेको जनाइएको छ ।
सरकारले प्रभावित जिल्लाका लागि नगद राहतसमेत उपलब्ध गराएको छ । रसुवा र नुवाकोटलाई एक–एक करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ तथा प्रभावित १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, विदेशी पर्यटकसँगै गएका नेपाली, उपचाररत तथा उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको जनाएको छ ।


