भोटेकोशी बाढीपीडितका लागि HSM परिवारद्वारा २० लाख सहयोग
जनकपुरधाम, १७ भदौ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोशल साइन्सेस (HSM) ले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बाढीबाट रसुवालगायतका प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।
विपद्का कारण ठूलो संख्यामा परिवार प्रभावित भएका छन् भने प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्य जारी छन् ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै HSM ले राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक योगदान गरेको जनाएको छ ।
कुल २० लाख रुपैयाँ सहयोगमध्ये HSM को तर्फबाट १५ लाख रुपैयाँ तथा संस्थाका शिक्षक तथा कर्मचारीहरूको तर्फबाट ५ लाख रुपैयाँ योगदान गरिएको हो ।
HSM ले उक्त सहयोगलाई आर्थिक सहयोगमा मात्र सीमित नभई विपत्तिको समयमा प्रभावित समुदायप्रतिको सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र एकताको प्रतिबद्धताका रूपमा लिएको जनाएको छ ।
संस्थाले बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सकुशल उद्धारको कामना गरेको छ ।

साथै, प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणका लागि सरकार, निजी क्षेत्र, संघसंस्था तथा आम नागरिकबाट निरन्तर सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ ।
HSM ले विपद्को समयमा पीडित समुदायको साथमा उभिन र पुनर्निर्माणका प्रयासमा हातेमालो गर्न सबै पक्षलाई आह्वानसमेत गरेको छ ।


