सम्पदा लघुवित्तद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख ५५ हजार सहयोग
जनकपुरधाम, १७ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
संस्थाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत गत भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको गम्भीर मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
बाढीमा परी ज्यान गुमाउनेहरूप्रति संस्थाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
साथै, विपद्का कारण सम्पर्कविहीन भएका सर्वसाधारण तथा विभिन्न बैंक तथा वित्तीय संस्था र संघसंस्थामा कार्यरत कर्मचारी र उनीहरूका परिवारले भोग्नुपरेको पीडाप्रति पनि संस्थाले सहानुभूति जनाएको छ ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले नेपाल सरकारको आह्वानअनुसार उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ ।
सम्पदा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलद्वारा जारी विज्ञप्तिमा विपद्को यस कठिन घडीमा प्रभावित नागरिकप्रति संस्थाले ऐक्यबद्धता जनाएको उल्लेख छ ।



