जनकपुरधाम, १७ भदौ । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको मानवीय क्षति थप बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ११४ शव फेला परेका छन् ।

बुधबार बिहान ९ बजेसम्मको विवरणअनुसार रसुवामा ४१, नुवाकोटमा ५५०, धादिङमा ५९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९०, गोरखामा ६६ र चितवनमा ३४८ शव फेला परेको प्राधिकरणले जनाएको छ । फेला परेका शवमध्ये ९५ जनाको सनाखत गरी परिवारलाई बुझाइएको छ ।

बाढीमा परी घाइते भएका २९२ जनामध्ये १८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । नेपाली सेनाले २ हजार ९१५ तथा सशस्त्र प्रहरीले १ हजार १५५ जनालाई स्वास्थ्य उपचारसमेत दिएको छ ।

उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

नेपाली सेनाले हालसम्म विदेशी २७३ र नेपाली ४ हजार ९१ गरी ४ हजार ३६४ जनाको हवाइ उद्धार गरेको छ । सेनाले हालसम्म ६२२ पटक हवाइ उडान गरिसकेको छ ।

बाढी प्रभावित क्षेत्रमा हाल ३ हजार ४५३ जना होल्डिङ सेन्टरमा रहेका छन् । तीमध्ये नुवाकोटमा २ हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौंमा ३२९ जना रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीनमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक, विदेशी पर्यटकसँग गएका नेपाली, स्थानीय बासिन्दा तथा जलविद्युत् आयोजनामा कार्यरत कामदारसमेत छन् ।

राहत तथा उद्धारका लागि प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक, ३७ बोलेरो तथा हेलिकप्टरमार्फत खाद्य र गैरखाद्य सामग्री पठाइएको छ । भदौ १६ गते मात्रै थप १४ गाडी राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।

सरकारले रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ ।

यता, बाढीबाट प्रभावित सञ्चार संरचना पनि क्रमशः सञ्चालनमा आएका छन् । नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटै टावर सञ्चालनमा आइसकेका छन् भने एनसेलका क्षतिग्रस्त ७८ टावरमध्ये ७५ वटा सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।