जनकपुरधाम, १६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ५० पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार साँझ ६ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ५० जनाको शव तथा मानव अंग फेला परेको हो ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ ।

त्यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा १४२, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।

बाढी तथा पहिरोमा परी अझै करिब ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

सम्पर्कविहीनमध्ये नुवाकोटमा करिब १ हजार ५५८, रसुवामा करिब ८६५, जलविद्युत आयोजनाबाट ६३९ तथा विदेशी नागरिक ५८३ जना छन् ।

त्यस्तै, विदेशी पर्यटकसँगै घुम्न गएका १६४ नेपाली, नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ३ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

बाढीमा परी घाइते भएका २९२ जनाको विवरण प्राप्त भएको छ ।विभिन्न अस्पतालबाट १८२ जना डिस्चार्ज भइसकेका छन् । नेपाली सेनाले २ हजार ९१५ जना तथा सशस्त्र प्रहरीले १ हजार १५५ जनालाई स्वास्थ्य उपचार सेवा दिएको प्राधिकरणले जनाएको छ ।

१२ हजारभन्दा बढीको उद्धार
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हालसम्म २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार १९९ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना परिचालन गरिएको छ ।

हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले हेलिकप्टरमार्फत २७३ विदेशी र ४ हजार ९१ नेपाली गरी ४ हजार ३६४ जनाको हवाई उद्धार गरेको छ ।

सेनाले हालसम्म ६१० पटक हवाई उडान गरिसकेको छ । त्यसमध्ये आज मात्रै ८४ उडान भएका छन् ।

प्रभावित क्षेत्रबाट उद्धार गरिएका तथा अन्य व्यक्तिसहित हाल ३ हजार ४५३ जना होल्डिङ सेन्टरमा रहेका छन् ।

नुवाकोटमा २ हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौंमा ३२९ जना होल्डिङ सेन्टरमा रहेको प्राधिकरणले जनाएको छ ।

प्रभावित क्षेत्रमा राहत सामग्री पठाइँदै
सरकारले बाढी प्रभावित क्षेत्रमा खाद्य तथा गैरखाद्य सामग्री पठाउने कामलाई तीव्रता दिएको छ ।

हालसम्म ३७ ट्रक र ३७ बोलेरोमार्फत राहत सामग्री पठाइएको छ भने हेलिकप्टरबाट ९ पटक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ । आज थप १४ वटा गाडीमार्फत राहत सामग्री पठाइएको छ ।

सशस्त्र प्रहरीले पनि हेलिकप्टरमार्फत हालसम्म ७७ पटक राहत सामग्री ढुवानी गरेको छ । आज नुवाकोटमा १६ उडानबाट ८ स्थान र रसुवामा ११ उडानबाट ११ स्थानमा राहत सामग्री पुर्‍याइएको छ ।

सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । यसैगरी प्रभावित १५ स्थानीय तहका लागि थप ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ ।

इन्धनको मौज्दात पर्याप्त रहेको दाबी
प्रभावित क्षेत्रमा ३५ हजार लिटर डिजेल, १५ हजार लिटर पेट्रोल र ९ हजार लिटर हवाई इन्धन मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।

सञ्चारतर्फ नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटै टावर सञ्चालनमा आएका छन् । एनसेलका ७८ टावरमा क्षति पुगेकोमा ७५ वटा सञ्चालनमा आइसकेका छन् ।

प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, विदेशमा रहेका नेपालीका आफन्तले खोजिरहेका व्यक्तिहरू, उपचाररत घाइते तथा हेलिकप्टरमार्फत उद्धार गरिएका व्यक्तिको विस्तृत विवरण आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको जनाएको छ ।