जनकपुरधाम, १६ भदौ । माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाल आएको कोरियन प्राविधिक टोली आवश्यक उपकरणको अभावमा काम सुरु नगरी फर्किएको छ ।

आयोजनाको फिल्डमा पुगेको कोरियन टोलीले सुरुङभित्र उद्धार कार्य अघि बढाउन मिनी स्काभेटर र मड पम्प आवश्यक पर्ने जनाएको थियो । तर, ती उपकरण उपलब्ध नभएपछि टोली उद्धार कार्यमा संलग्न हुन नसकी धुन्चे फर्किएको हो ।

बाढीपहिरोका कारण आयोजनाको सुरुङ तथा आसपासको क्षेत्रमा ठूलो क्षति पुगेपछि सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार चुनौतीपूर्ण बनेको छ ।

उद्धारका लागि आवश्यक जनशक्ति र प्राविधिक टोली पुगे पनि उपकरणको अभावले काम प्रभावित भएको बताइएको छ ।

सुरुङभित्र प्रवेश गरी फसेकाहरूको अवस्था पहिचान तथा उद्धारका लागि पानी, हिलो र भग्नावशेष हटाउन मड पम्प तथा मिनी स्काभेटर अत्यावश्यक मानिएको छ ।

तर, फिल्डमा आवश्यक उपकरण उपलब्ध नहुँदा उद्धारमा खटिएको विदेशी प्राविधिक टोलीसमेत तत्काल काम अघि बढाउन नसकी फर्किनुपरेको हो ।

उद्धारका लागि आवश्यक उपकरण तत्काल व्यवस्थापन गरी सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिनुपर्ने अवस्था देखिएको छ ।