जनकपुरधाम, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता रहेका व्यक्तिहरूको पहिचान गर्ने उद्देश्यले नेपाल प्रहरीले आफन्तबाट डीएनए परीक्षणका लागि नमुना संकलन सुरु गरेको छ ।

बाढीपछि लामो समयसम्म सम्पर्कविहीन रहेका तथा फेला परेका शवको पहिचान हुन नसकेका व्यक्तिहरूको यकिन पहिचान गर्न नेपाल प्रहरी अस्पतालमा आफन्तबाट डीएनए नमुना लिने काम भइरहेको हो ।

सम्बन्धित व्यक्तिका परिवार तथा आफन्तलाई बोलाएर आवश्यक प्रक्रिया पूरा गरी डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको प्रहरीले जनाएको छ ।

संकलित नमुना बेपत्ता व्यक्तिको सम्भावित जैविक नमुना तथा पहिचान हुन नसकेका शवसँग मिलान गरी पहिचान गर्न प्रयोग गरिनेछ ।

प्राकृतिक विपद्का कारण ठूलो संख्यामा मानिसहरू बेपत्ता भएपछि शवको पहिचान चुनौतीपूर्ण बनेको छ ।

यस्तो अवस्थामा डीएनए परीक्षणबाट मृतक तथा बेपत्ता व्यक्तिको वैज्ञानिक र विश्वसनीय पहिचान गर्न सहयोग पुग्ने प्रहरीको विश्वास छ ।

बाढीमा आफ्ना आफन्त बेपत्ता भएका परिवारलाई पहिचान प्रक्रियामा सहभागी गराउँदै नमुना संकलनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

डीएनए परीक्षणको नतिजाका आधारमा पहिचान भएका व्यक्तिको विवरण सम्बन्धित परिवारलाई जानकारी गराइनेछ ।