रसुवा बाढी: मृतकको संख्या १ हजार ३ पुग्यो, ३ हजार ९१६ अझै बेपत्ता
जनकपुरधाम, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा भएको खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार ३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १६ गते दिउँसो १ बजेसम्म विभिन्न जिल्लाबाट ती शव फेला परेका हुन् ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ वटा फेला परेका छन् ।
फेला परेका शवमध्ये केहीमा मानव अंगसमेत समावेश छन् । बाढीपछि अझै करिब ३ हजार ९ सय १६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ३ जना रहेका छन् ।
त्यस्तै, रसुवाबाट करिब ८६५ जना र नुवाकोटबाट करिब १ हजार ५५८ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ ।
जलविद्युत् आयोजनामा कार्यरत करिब ६३९ जना तथा ५८३ जना विदेशी नागरिक पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
विदेशी पर्यटकसँगै घुम्न गएका १६४ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन छन् ।
बाढी तथा पहिरोमा परी हालसम्म २७९ जना घाइते भएका छन् । विभिन्न अस्पतालबाट १६८ जना डिस्चार्ज भइसकेका छन् भने नेपाली सेनाले हालसम्म २ हजार ७४० जनालाई स्वास्थ्य उपचार सेवा दिएको जनाएको छ ।
खोज तथा उद्धार कार्यलाई तीव्रता दिँदै सरकारले प्रभावित क्षेत्रमा २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार १९९ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना रहेका छन् ।
हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले हवाइ माध्यमबाट मात्रै २७३ विदेशी र ३ हजार ५०९ नेपाली गरी ३ हजार ७८२ जनाको उद्धार गरेको छ ।
सेनाले हालसम्म ५९२ पटक हवाइ उडान गरेको छ । मंगलबार मात्रै ४१ उडान गरिएको प्राधिकरणले जनाएको छ । निजी क्षेत्रबाट काठमाडौं हुँदै प्रभावित क्षेत्रमा २९ वटा उडान भएका छन् ।
उद्धार गरिएका तथा प्रभावित नागरिकको व्यवस्थापनका लागि नुवाकोट, रसुवा, धादिङ र काठमाडौंमा होल्डिङ सेन्टरसमेत सञ्चालनमा छन् ।
नुवाकोटमा २ हजार ४६६, रसुवामा ३९८, धादिङमा २६० र काठमाडौंमा ३२९ जना होल्डिङ सेन्टरमा रहेका छन् ।
राहत वितरण तीव्र
बाढी प्रभावित क्षेत्रमा खाद्य तथा गैरखाद्य सामग्री पठाउने काम पनि जारी छ ।
हालसम्म ३७ ट्रक र ३७ बोलेरोमार्फत राहत सामग्री पठाइएको छ भने हेलिकप्टरबाट ९ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ ।
सशस्त्र प्रहरी बलले पनि हवाइ माध्यमबाट राहत सामग्री ढुवानीका लागि हालसम्म ७७ उडान गरेको छ ।
मंगलबार नुवाकोटमा १६ उडानमार्फत ८ स्थान र रसुवामा ११ उडानमार्फत ११ स्थानमा राहत सामग्री पुर्याइएको छ ।
सरकारले रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । त्यस्तै, प्रभावित १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ ।
सञ्चार सेवा अधिकांश ठाउँमा पुनः सञ्चालन
बाढीबाट क्षतिग्रस्त सञ्चार संरचनाको पुनःस्थापना पनि भइरहेको छ । नेपाल टेलिकमका ११० वटा टावरमा क्षति पुगे पनि अहिले सबै टावर सञ्चालनमा आएका छन् ।
एनसेलका ७८ टावरमा क्षति पुगेकोमा ७५ वटा टावर पुनः सञ्चालनमा आएका छन् ।
त्यस्तै, प्रभावित क्षेत्रमा इन्धन आपूर्ति कायम राख्न डिजेल ४२ हजार लिटर, पेट्रोल १८ हजार लिटर र हवाइ इन्धन ६ हजार लिटर मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।
पहिचान खुल्न नसकेका शव विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ ।
शवको पहिचान तथा सम्पर्कविहीन व्यक्तिको विवरण संकलन र खोजी कार्यलाई समेत निरन्तरता दिइएको छ ।



