जनकपुरधाम, १६ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, जनधनको सुरक्षा र राहत व्यवस्थापनका लागि नेपाल प्रहरीले मंगलबारसम्म ७ हजार ९ सय ९२ जना प्रहरी परिचालन गरेको छ ।

बाढीबाट प्रभावित विभिन्न जिल्लामा सम्भावित जोखिम न्यूनीकरण तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल प्रहरीका विभिन्न प्रदेश, कार्यालय तथा युनिटबाट ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको हो ।

प्रहरीका अनुसार प्रहरी प्रधान कार्यालयबाट १ हजार ६ सय २, वागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १ सय ८२, गण्डकी प्रदेशबाट १ हजार ३ सय ९, लुम्बिनी प्रदेशबाट ६ सय ४० र काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७ सय ५४ जना परिचालन भएका छन् ।

त्यस्तै, प्रहरी अस्पताल महाराजगञ्जबाट ३ सय ९७, राप्रप्रप्र महाराजगञ्जबाट ४ सय ५०, प्रहरी शिक्षालयबाट ३ सय ५६ र अन्य सम्बन्धित युनिटबाट २ सय २२ जना प्रहरी प्रभावित क्षेत्रमा खटिएका छन् ।

२४ घण्टा समन्वय केन्द्र सञ्चालन
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा कार्यलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरिएको छ ।

विपद्सँग सम्बन्धित सूचना, तथ्यांक तथा उद्धार कार्यको समन्वयका लागि प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’समेत २४सै घण्टा सञ्चालनमा ल्याइएको छ ।

घाइतेको उपचार, शव व्यवस्थापन तथा आफन्तसँग समन्वयका लागि काठमाडौंका विभिन्न अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष ‘फोकल डेस्क’ स्थापना गरिएको प्रहरीले जनाएको छ ।

वीर अस्पतालमा ३०, सिभिल अस्पतालमा १३, काठमाडौं मेडिकल कलेजमा ५ तथा त्रिभुवन शिक्षण अस्पतालमा डीआईजीको नेतृत्वमा ६२ जना प्रहरी परिचालन गरिएको छ ।

विमानस्थलमा देशी–विदेशी नागरिकका शव व्यवस्थापन तथा घाइतेको विवरण संकलनका लागि एसपीको नेतृत्वमा ८ सदस्यीय टोली खटाइएको छ ।

खोजीमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग
बाढी तथा पहिरोका कारण पैदल पुग्न कठिन भएका क्षेत्रमा खोजी तथा निगरानीका लागि प्रहरीले प्रविधिको प्रयोग बढाएको छ ।

रसुवा, नुवाकोट र धादिङमा गरी १२ वटा ड्रोन परिचालन गरिएको छ ।

त्यस्तै, सम्भावित शव तथा मानिसको खोजीका लागि पाँचवटा तालिमप्राप्त कुकुर प्रयोगमा ल्याइएको छ ।

सञ्चार सम्पर्क कठिन भएका दुर्गम क्षेत्रमा सूचना आदानप्रदानका लागि सातवटा स्याटेलाइट फोनसमेत सञ्चालनमा छन् ।

घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना प्रहरी परिचालन गरिएको छ भने विभिन्न जिल्लामा शव पहिचान तथा व्यवस्थापनका लागि ७ सय १५ जना प्रहरी खटिएका छन् ।

घटनास्थलमा ‘सिन अफ क्राइम अफिसर’सहितको टोली तथा शवको डीएनएलगायत वैज्ञानिक परीक्षणका लागि फरेन्सिक विज्ञसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।

घाइतेको तत्काल उपचारका लागि नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

विपद्को मौका छोपेर चोरी र ठगी गर्ने पक्राउ
विपद्को मौका छोपेर चोरी, लुटपाट तथा ठगी गर्ने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको छ ।

नारायणी नदीले बगाएर ल्याएको महिलाको शवबाट सुनको मुन्द्रा तथा गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरी चितवन मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको छ ।

त्यस्तै, धादिङको गल्छी–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको बैंकको सेफ फुटाएर रकम निकाल्ने २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

बाढीपीडितको नाममा सामाजिक सञ्जालमा नक्कली पोस्ट राखेर रकम असुल्न खोजेको आरोपमा रामेछाप गोकुलगंगा–२ ठोसे बजारका ३२ वर्षीय सृजन कार्कीसमेत पक्राउ परेका छन् ।

यसैबीच, धादिङको गल्छी–६ बैरेनी बजारमा सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा १९ इन्च लम्बाइ र १६ इन्च चौडाइको बन्द सेफ फेला परेको छ ।

उक्त सेफ प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको छ । परेवाटार–मलेखुस्थित त्रिशूली नदीको बगरमा पनि अर्को नफुटेको सेफ फेला परेको छ भने मलेखु खोलामा देखिएको थप एउटा सेफ निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

नारायणी आसपास मात्रै ७५७ प्रहरी परिचालन
बाढीको बहाव पहाडी क्षेत्रबाट तराईतर्फ बढ्दै जाने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले नदी आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ ।

चितवनको नारायणी नदी आसपास मात्रै ७ सय ५७ जना प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले उद्धार तथा राहत व्यवस्थापनसँगै बाढीबाट विस्थापित नागरिकको सुरक्षा, जोखिमयुक्त क्षेत्रमा निगरानी, भौतिक अवरोध हटाउने र नदीले बगाएर ल्याएका सामग्री व्यवस्थापनको कामसमेत गरिरहेको जनाएको छ ।

विपद्को संवेदनशील अवस्थामा नागरिकको सुरक्षा र उद्धारलाई उच्च प्राथमिकतामा राखेर प्रहरी परिचालन निरन्तर जारी रहेको छ ।

प्रहरीले प्रभावित क्षेत्रका नागरिकलाई संयमित रहन, जोखिमयुक्त स्थानमा नजान तथा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना र ठगीपूर्ण गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ ।