माथिल्लो त्रिशूली–३ बीको सुरुङमा नेपाली सेनाको उद्धार प्रयास तीव्र, मानिस फसेको आशंका
जनकपुरधाम, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाले खोज तथा उद्धार प्रयासलाई तीव्रता दिएको छ ।
सुरुङभित्र मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको भैरवनाथ गण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले उद्धार तथा खोजी अभियान सञ्चालन गरिरहेको हो ।
सोमबार बिहान ९ बजेदेखि नेपाली सेनाका थप १६ जना सुरुङ क्षेत्रमा खटिएर भित्र जमेको माटो तथा अवरोध हटाउँदै खोजी कार्यमा जुटेका छन् ।
यसअघि आइतबार भैरवनाथ गणका १५ जना सैनिक र नेपाल विद्युत् प्राधिकरणको टोलीले सुरुङ क्षेत्रमा खोज तथा उद्धारको प्रयास सुरु गरेको थियो ।
सुरुङभित्र बाढीका कारण ठूलो मात्रामा माटो तथा अन्य अवरोध जम्मा भएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ ।
यसअघि नेपाल सरकारको अनुमतिमा भदौ १३ गते चिनियाँ उद्धार टोली निजी हेलिकप्टरसहित नुवाकोटको त्रिशूली पुगेको थियो ।
नेपाली सेनासँग समन्वय गरी उक्त टोलीले माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको सुरुङ क्षेत्रको स्थलगत निरीक्षण (रेकी) गरेको थियो ।
चिनियाँ उद्धार टोलीले सोही दिन रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको क्षेत्रमा समेत रेकी गरेको थियो । दुवै आयोजनाको अवस्थाबारे स्थलगत निरीक्षण गरेपछि टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो ।
भदौ १४ गते चिनियाँ टोली भने रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित भएको थियो। यता माथिल्लो त्रिशूली–३ बीमा नेपाली सेनाले नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दहालका अनुसार सुरुङभित्र मानिसहरू फसेको आशंका रहेकाले नेपाली सेनाले उद्धार प्रयासलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।
सुरुङभित्रको वास्तविक अवस्था र त्यहाँ रहेका व्यक्तिबारे थप विवरण खोजी कार्यपछि मात्र स्पष्ट हुने बताइएको छ ।


