रसुवा बाढी: मानवीय क्षति ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन
जनकपुरधाम, १५ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म बाढी तथा त्यसबाट उत्पन्न विपद्मा ९०३ जनाको मानवीय क्षति भएको छ भने करिब ४ हजार २४७ जना अझै सम्पर्कविहीन छन् ।
प्राधिकरणका अनुसार विभिन्न जिल्लाबाट हालसम्म शव तथा मानव अंगसमेत गरी ठूलो संख्यामा अवशेष फेला परेका छन् ।
सबैभन्दा धेरै चितवनमा २७२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, नुवाकोटमा ९५, रसुवामा २४, धादिङमा ५५, गोरखामा ६२ र तनहुँमा ३७ शव फेला परेका छन् ।
बाढीमा परी घाइते भएका २६७ जनामध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
घाइतेमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ३ जना रहेका छन् ।
सम्पर्कविहीनमध्ये नुवाकोटका १ हजार ५५८, रसुवाका ८६५ र मकवानपुरका ६५ जना रहेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, विदेशी नागरिक ५९२ जना, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
विपद्पछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ ।
सुरक्षातर्फ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २० हजार ८१९ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
यसमा नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ७२२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी रहेका छन् ।
नेपाली सेनाले हवाई माध्यमबाट मात्रै २५२ विदेशी र ३ हजार ३४४ नेपाली गरी ३ हजार ५९६ जनाको उद्धार गरेको छ । भदौ १४ गते जलविद्युत् आयोजनाबाट १५ चिनियाँ र ७ भारतीय नागरिकको समेत उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
हालसम्म उद्धार तथा राहतका लागि ४११ पटक हवाई उडान भइसकेका छन् भने सोमबार मात्रै १७ वटा उडान सञ्चालन गरिएको छ ।
प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ ।
नेपाल सरकारले प्रभावित स्थानीय तह तथा जिल्लाका लागि नगद राहतसमेत उपलब्ध गराएको छ ।
रसुवा र नुवाकोटका लागि एक–एक करोड रुपैयाँ, धादिङका लागि ५० लाख रुपैयाँ तथा प्रभावित १५ पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ राहत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
राहत सामग्रीतर्फ हालसम्म ३७ ट्रक र ३५ बोलेरो मार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।
हेलिकप्टरमार्फत समेत आठ उडान गरी खाद्य, औषधि तथा अन्य अत्यावश्यक सामग्री पठाइएको छ ।
रसुवामा भदौ १४ गते स्थल तथा हवाई मार्गबाट खाद्य तथा गैरखाद्य सामग्रीसँगै पाँचवटा पोर्टेबल जेनेरेटर पठाइएको छ ।
नुवाकोटमा पनि १६ वटा सवारीसाधन तथा हेलिकप्टरमार्फत राहत सामग्री परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
प्रभावित क्षेत्रमा हाल डिजेल २५ हजार लिटर, पेट्रोल २१ हजार लिटर र हवाई इन्धन १० हजार लिटर मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।
यसैबीच, पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ ।
शवको पहिचान तथा सम्पर्कविहीन व्यक्तिको विवरण संकलन र अद्यावधिक गर्ने कामसमेत जारी रहेको छ ।
प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, विदेशमा रहेका नेपालीका आफन्तले खोजिरहेका व्यक्तिहरू, उपचाररत घाइते तथा हेलिकप्टरमार्फत उद्धार गरिएका व्यक्तिहरूको विवरण नियमित रूपमा सार्वजनिक गर्दै आएको जनाएको छ ।


