रसुवा बाढीमा मानवीय क्षति ७८१ पुग्यो, २ हजार ५ सयभन्दा बढी सम्पर्कविहीन
जनकपुरधाम, १४ भदौ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि भएको खोज तथा उद्धारका क्रममा हालसम्म ७८१ जनाको मानवीय क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै करिब २ हजार ५०२ जना सम्पर्कविहीन छन् ।
प्राधिकरणले आइतबार साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित विभिन्न जिल्लाबाट शव तथा मानव अङ्ग फेला परेको जनाएको छ ।
सबैभन्दा धेरै चितवनमा २७२, नवलपरासी पूर्वमा १९९, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ वटा शव फेला परेका छन् ।
बाढी तथा विपद्का कारण २६७ जना घाइते भएका छन् । तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । प्रभावित क्षेत्रमा अहिले ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
सरकारले तीव्र पारेको खोज तथा उद्धार अभियानबाट हालसम्म ९ हजार ४३५ जनाको उद्धार गरिएको छ ।
जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि भदौ १२ गते १९१ र भदौ १३ गते ८८ गरी २७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
नेपाली सेनाले हवाई उद्धारमार्फत हालसम्म २५४ विदेशी र ३ हजार ६७ नेपाली नागरिकको उद्धार गरेको जनाएको छ । आइतबार मात्रै जलविद्युत् आयोजनाबाट १५ जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।
उद्धार तथा राहतका लागि हालसम्म ३९४ वटा हवाई उडान भएका छन् । आइतबार मात्रै ७२ वटा उडान गरिएको प्राधिकरणले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ५२१ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन् ।
सम्पर्कविहीनमध्ये जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, विदेशी नागरिक ५९२ जना तथा विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली रहेको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ ।
त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।
सरकारले बाढी प्रभावित स्थानीय तह तथा जिल्लामा तत्काल राहतका लागि नगद पठाएको छ ।
रसुवा र नुवाकोटलाई एक–एक करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ तथा प्रभावित १५ पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
प्रभावित क्षेत्रमा इन्धनको मौज्दाततर्फ २३ हजार लिटर डिजेल, २२ हजार लिटर पेट्रोल र १ हजार ५०० लिटर हवाई इन्धन रहेको प्राधिकरणले जनाएको छ ।
प्रभावित नागरिकका लागि हालसम्म ३७ ट्रक र ३५ बोलेरो मार्फत खाद्य तथा गैरखाद्य राहत सामग्री पठाइएको छ । हेलिकप्टरबाट समेत ८ वटा उडान गरी राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ ।
भदौ १३ गते मात्रै २ टन खाद्य सामग्री उत्तरगया र धुन्चे पठाइएको थियो । हेलिकप्टरमार्फत उद्धार तथा अन्य आवश्यक सामग्रीसमेत प्रभावित क्षेत्रमा पुर्याइएको प्राधिकरणले जनाएको छ ।
यसैबीच, पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ । शव तथा सम्पर्कविहीन नागरिकको पहिचान र विवरण संकलनको कामसमेत जारी रहेको छ ।



