नागरिकको जीवनरक्षामा राज्य संयन्त्र परिचालन छ: प्रधानमन्त्री शाह
जनकपुरधाम, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोज, उद्धार, उपचार तथा राहत वितरणलाई तीव्रता दिएको जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले विपद्बाट प्रभावित नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको बताउँदै सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरिएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहले देशले पछिल्लो पाँच दिनदेखि अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको उल्लेख गर्दै प्रतिकूल मौसम, विकट भूगोल र निरन्तरको जोखिमका कारण क्षतिको पूर्ण विवरण संकलनमा चुनौती रहेको बताए ।
उनका अनुसार अहिलेसम्म बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ । उद्धार तथा राहतका लागि हालसम्म ३९४ वटा उडान भइसकेका छन् ।
उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्री शाहले बताए ।
जलविद्युत् आयोजनाका प्रभावित क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ । रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट मात्रै दुई दिनमा २५० जनाको उद्धार गरिएको छ ।
चिनियाँ तथा कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी खोज तथा उद्धार गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।
नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूले ‘ब्लास्टिङ’सहितको काम अघि बढाएका छन् ।
घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ ।
टोलीले सुरुङको मुख्य भागमा पुगेर २×३ फिटको प्वाल बनाएर भित्रबाट प्रतिक्रिया लिन प्रयास गरे पनि कुनै प्रतिक्रिया नआएपछि ठूला उपकरण, ब्लास्टिङ र प्वाल फराकिलो पार्ने काम एकसाथ अघि बढाइएको प्रधानमन्त्री शाहले बताए ।
माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनामा पनि विभिन्न स्वदेशी तथा विदेशी विशेषज्ञ टोलीको सहयोगमा खोज तथा उद्धार जारी रहेको सरकारले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट २६७ जना घाइतेको उद्धार गरी उपचार भइरहेको छ । तीमध्ये १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि चिकित्सकसहितको टोली परिचालन गरिएको छ भने अवरुद्ध स्वास्थ्य संस्थाको सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको प्रधानमन्त्री शाहले बताए ।
प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामार्फत ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको सरकारले जनाएको छ ।
यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको छ ।
संकलित रकमलाई प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्रभावकारी रूपमा खर्च गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री शाहले बताए ।
रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ ।
आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन् ।
भारत र चीनबाट पनि उद्धार तथा राहत सामग्री प्राप्त भइरहेको सरकारले जनाएको छ ।
भारतबाट चार चरणमा गरी हालसम्म ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ ।
यस्तै, भारतले २३० फिटको सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको छ भने थप सातवटा बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । चीनबाट ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरिएको सरकारले जनाएको छ ।
सरकारका अनुसार एसियाली विकास बैंकबाट ५ मिलियन अमेरिकी डलर बजेटरी सहयोग, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर तथा अष्ट्रेलियाबाट १ मिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता आएको छ ।
स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्रसंघमार्फत खर्च हुने गरी १ मिलियन स्विस फ्र्याङ्क सहयोग प्राप्त भएको पनि प्रधानमन्त्री शाहले जानकारी दिए ।
बाढीका कारण अवरुद्ध सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा ल्याइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रभावित क्षेत्रमा २० वटा स्याटलाइट फोन पठाएको छ ।
बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बिटिएस टावरको सेवा अवरुद्ध भएकोमा हालसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् ।
बाढीमा परी ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको सरकारले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा शव व्यवस्थापन भइरहेको छ ।
पहिचान भएका शव आफन्तको जिम्मा लगाउने काम भइरहेको छ भने पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न थालिएको छ ।
पहिचानका लागि आवश्यक डिएनएलगायतका आधार सुरक्षित राखेर मात्रै बेवारिसे शव व्यवस्थापन गरिने प्रधानमन्त्री शाहले बताए ।
प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा प्रभावित परिवारले भोगिरहेको पीडा सरकारका लागि अत्यन्त संवेदनशील विषय भएको बताउँदै प्रत्येक प्रभावित नागरिकसम्म राहत पुर्याउने र पुनर्निर्माण तथा पुनःस्थापनाको काम पूर्ण नतिजा नआएसम्म निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले सरकार कुनै बहाना नबनाई नागरिकको जीवनरक्षा, उद्धार, राहत र पुनःस्थापनाका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर अघि बढिरहेको बताए ।


