जनकपुरधाम, १३ भदौ । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जारी खोज तथा उद्धार अभियानलाई तीव्र बनाइएको छ ।

नेपाल प्रहरीका अनुसार शनिबार दिउँसो २ः५० बजेसम्म बाढी प्रभावित क्षेत्रमा ४ हजार ८ सय ५४ जना प्रहरी परिचालन भएका छन् ।

प्रहरीका अनुसार बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म ६२६ जनाको शव फेला परेको छ ।

फेला परेका शवमध्ये रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८, नुवाकोटमा ८९, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ वटा रहेको प्रहरीले जनाएको छ ।

बाढीपछि खोज तथा उद्धारका क्रममा २ हजार ३०१ जनाको उद्धार तथा घाइतेको विवरण संकलन भएको छ । जसमा रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जना रहेका छन् ।

यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० जना रहेको नेपाल प्रहरीले जनाएको छ ।

बाढीका कारण प्रहरी कर्मचारीसमेत प्रभावित भएका छन् । प्रहरीका अनुसार हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले प्रयास जारी राखेको जनाएको छ ।

भोटेकोशी तथा त्यसबाट प्रभावित त्रिशूली नदी आसपासका क्षेत्रमा बेपत्ता नागरिकको खोजी, शवको पहिचान तथा उद्धार कार्यलाई प्राथमिकतामा राखेर प्रहरीसहित सुरक्षा निकाय परिचालन गरिएको छ ।